समाचारबुधबार, मंसिर १६, २०७२
विश्वविद्यालयमा राजनीति प्रवेशको अवसर नदिऊँ: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले प्राज्ञिक मूल्य, मान्यता र मर्यादा कमजोर भएपछि नै विश्वविद्यालयमा राजनीतिको प्रवेशका लागि अवसर बढ्ने भएकाले प्राज्ञिक मूल्य मान्यता र मर्यादालाई मजबुत बनाउनु पर्नेमा जोड दिएकी छन् ।
त्रिभुवन विश्वविद्यालयको ४१ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले त्रिविलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट केन्द्रका रुपमा विकसित गर्न के–कस्ता कानूनी परिवर्तन आवश्यक छन् भन्ने खाका यथाशीघ्र तयार हुने अपेक्षा पनि व्यक्त गरिन् ।
‘‘त्रिविका केही सङ्कायमा अझै प्रभावकारी रुपमा शैक्षिक कार्यतालिका लागू हुन नसकी विद्यार्थीले तोकिएको समयमा आफ्नो अध्ययन पूरा गर्न पाएका छैनन् । भौतिक साधनको हालत नाजुक छ । पठनपाठन र व्यवस्थापनका लागि सूचना प्रविधिलगायतका अन्य आधुनिक प्रविधि यथोचितरुपमा प्रयोग गर्न सकिएको छैन,” उनले भनिन् ।
नयाँ संविधान घोषणा भइसक्दा पनि केही राजनीतिक समस्या अझै विद्यमान रहेको र देश ठूलो सङ्कटबाट गुज्रिरहेको भन्दै राष्ट्रपति भण्डारीले अब कुनै पनि बहानामा द्रुतगतिमा विकासतर्फ उन्मुख बाटोबाट विचलित हुने कार्य क्षम्य हुन नसक्ने बताइन् ।
उनले देशको द्रुत विकास सरकार, राजनीतिक पार्टी, सरकारी तथा गैह्रसरकारी सङ्घसंस्था, निजी क्षेत्र, पेसागत संस्था र आम जनसमुदायको हातेमालोबाट मात्र सम्भव हुने र यी कार्यमा उपयुक्त वातावरण सिर्जना गर्न विश्वविद्यालयको अहम् भूमिका रहने धारणा व्यक्त गरिन् ।
आज १६ मंसीरमा काठमाडौंको दशरथ रंगशालामा आयोजित समारोहमा ७ हजार ३४२ विद्यार्थी दिक्षित भएका छन् ।