समाचारबुधबार, मंसिर १६, २०७२

वीरगञ्जः आन्दोलनमा सहभागिता घट्दो, सीमामा धर्ना दिनेहरु पनि घटे

हिमालखबर

तीन महिनादेखि मध्यमधेशमा जारी मधेशी मोर्चाको आन्दोलनमा पछिल्लो समय कार्यकर्ताहरुको उत्साह घट्दै गएको छ ।

१६ मंसीर मध्याह्न १२ बजे वीरगञ्ज रक्सौल सीमा क्षेत्रमा धर्ना दिनेहरु ।

 

करिब १५ दिन अघिसम्म पनि पर्सा र बाराका ग्रामिण क्षेत्रबाट दिनहुँ ठूलो संख्यामा मानिसहरु वीरगञ्जमा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने गरेकोमा अचेल ग्रामिण क्षेत्रबाट सहभागिता हुन छोडेको छ । आन्दोलनको केन्द्र बनेको वीरगञ्ज तुलनात्मक रुपमा शान्त नै छ ।

वीरगञ्जका पसलहरु बिहानैदेखि खुल्ने गरेका छन् । छठपछि केही दिन मोर्चाका कार्यकर्ताहरुले जबर्जस्ती बन्द गराएको भए पनि अचेल वीरगञ्जका अधिकांश पसल खुलै हुन्छन् । बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।

वीरगञ्ज र रक्सौलको सीमामा धर्ना दिएर आयात–निर्यात समेत ठप्प पारेका धर्नाकारीको संख्या पनि घटदै गएको छ । १६ मंसीर विहान ९ बजे सीमा क्षेत्रको मितेरी पुलमा धर्ना दिनेहरु करिब १२ जना मात्रै देखिए । मध्याह्न १२ बजे धर्नामा बस्नेहरुको अनुहार फेरिए पनि संख्या भने उत्तिकै थियो ।

सीमा क्षेत्रमा धर्ना दिनेहरु कम हुँदै जाँदा १४ मंसीर विहान वीरगञ्जमा रोकिएका भारतीय ट्रकहरु रक्सौल जाने प्रयास गरेका थिए । मोर्चाले सडक नै छेक्ने गरी गाडेको टेन्ट ट्रक चालकहरुले हटाउन खोज्दा विवाद भएको थियो । नाका खुलाउन लागिएको हल्लाले गर्दा त्यहाँ मोर्चाका कार्यकर्ताहरु थपिएका थिए भने ट्रक चालकहरु वीरगञ्जतर्फ फर्किएको प्रहरीले जनाएको छ ।

माइस्थान र घण्टाघर बीचको मुख्य सडकमा खुलेका पसलहरु ।

जाडो बढदै गएको, धान काट्ने र गहुँ छर्ने सिजन भएकोले पनि आन्दोलनमा जनसहभागिता घटदै गएको स्थानीयहरु बताउँछन् । आन्दोलन हिंसात्मक बन्दा पनि सहभागिता कम हुँदै गएको विश्लेषण समेत हुने गरेको छ भने, अर्कोतिर लामो समयसम्मको आन्दोलनले जनतामा पनि निराशा व्याप्त छ ।

मधेशकेन्द्रित दलका नेताहरु नै पनि सडकमा आउन छाडेको कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

पर्सामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धन गरी दुईवटा मोर्चाबीच कसले सडकमा बढी मान्छे उतार्ने भन्दै चल्ने होडबाजी पनि अचेल देखिंदैन ।

धर्नामा बस्नेहरुको संख्या राति केही बढ्ने भए पनि दिनभर भने ३० जना पनि नपुग्ने स्वयम् धर्नाकारीहरु बताउँछन् ।

१६ मंसीर विहान वीरगञ्ज रक्सौल नाकामा रहेको मितेरी पुल ।

 

शुरुशुरुमा नाकाबाट मोटरसाइकल र साइकल बाहेकका अन्य सवारी साधान आउजाउ गर्न रोक लगाइएको भए पनि अचेल भने टाँगा, टेम्पो सहजै आउजाउ गरिरहेका देखिन्छन् । ट्रकको सट्टा टाँगामै सामान ओसार पसार हुने गरेको भन्सार अधिकारीले बताए ।

वीरगञ्जबाट अन्य जिल्लामा मालवाहक गाडीहरु पनि पहिले भन्दा धेरै गइरहेका छन् । “दैनिक २०० जति गाडीहरु स्कर्टिङमा जिल्ला बाहिर पठाइरहेका छौं, खासै अवरोध पनि आएको छैन,” पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने ।

मधेश केन्द्रित दलहरुले आन्दोलन थालेको १६ मंसीरमा १११ दिन पुगेको छ भने सीमा क्षेत्रमा धर्ना दिन थालेको ७१ दिन ।

रक्सौलको पेट्रोल पम्पमा पेट्रोल भर्ने नेपाली मोटरसाइकलको लाम ।

रक्सौलको पेट्रोल पम्पमा पेट्रोल भरेर फर्कदै गरेका  नेपाली मोटरसाइकलको लाम ।

सीमावर्ती भारतीय बजार रक्सौलका पेट्रोल पम्पहरुमा भारतीय भन्दा नेपालीका मोटरसाईकलको लाम बढी लामो हुने गरेको छ ।

तस्कारीबाट भित्रिएको इन्धन महङगो हुने र मिसावट समेत हुने भएकोले वीरगञ्ज र असापासको क्षेत्रका सर्वसाधरणहरु पेट्रोल डिजेल भर्न रक्सौल पुग्छन् ।

मोटरसाईकलमा भरिएको पेट्रोल वीरगञ्ज लगेर महंगोमा विक्री गर्ने र फेरि रक्सौलमा किन्न आउनेहरु पनि अधिकांश भएको रक्सौलका राजेन्द्र पासवानले बताए ।

उनले भने, “यहाँबाट पेट्रोल लगेर वीरगञ्जमा बेच्नेहरुमा भारतीयहरु पनि सक्रिय छन, पेट्रोल धन्दाबाट नयाँ मोटरसाइकल किन्नेहरु पनि उत्तिकै छन् ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>