अर्थ/बजारबुधबार, मंसिर १६, २०७२
पथलैया–वीरगञ्ज कोरिडोरका अधिकांश उद्योग बन्द, हजारौं मजदुर बेरोजगार
भारतको नाकाबन्दी र मधेशी मोर्चाको हडतालले गर्दा पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका अधिकांशं उद्योगहरु बन्द भएका छन् ।
नाकाबन्दी र आन्दोलनका कारण कच्चा पदार्थ र इन्धन आपूर्ति ठप्प हुँदा पथलैया–पथलैया औद्योगिक करिडोरका उद्योग, कलकारखाना बन्द भएका हुन् ।
करिडोर कै ठूलो मध्येकोे सिमरास्थित जगदम्बा स्टिल प्रालीले आफ्ना सबै उत्पादन बन्द गरेको जनाएको छ । उद्योगका प्रमुख पवनबाबु अग्रवालले कच्चा पदार्थको अभावमा सम्पूर्ण उत्पादनहरु बन्द गरिएको बताए ।
हुलास स्टिलले पनि डेढ महिनादेखि आफ्ना उत्पादनहरु बन्द गरिसकेको छ । हामा स्टिलले मधेशमा आन्दोलन शुरु भए लगत्तै उद्योग बन्द गरेको थियो ।
आवश्यक सम्पूर्ण कच्चा पदार्र्थमा छिमेकी मुलुक भारतमा निर्भर रहनु पर्ने बाध्यताले यो अवस्था आएको हुलास स्टिल प्रालीका प्रशासन प्रमुख जे.एल. आर्याले बताए ।
नेपाली उद्योगहरुमध्ये बढी राजस्व बुझाउने सूर्य नेपाल प्रालीले पनि आफ्ना केही ब्राण्डहरुको उत्पादन बन्द गरेको छ ।
देशभर रहेका कुल उद्योगमध्ये पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा मात्रै ४० प्रतिशत छन् । उद्योग बन्द हुँदा यसक्षेत्रमा कार्यरत करिब १० हजार मजदूरहरु बेरोजगार भएका छन् ।
अधिकांश उद्योगमा ‘नो वर्क नो पे’ लागू भएको कारण पनि मजदुरहरु बेरोजगार बनेका हुन् ।
लगातारको बन्दले धराशायी बनेको औद्योगिक क्षेत्र निर्वाध सञ्चालनका लागि अपिल गरेको भए पनि सरकारले गम्भीर रुपमा नलिएको उद्योग वाणिज्य संघ बाराका महासचिव राजकुमार साहको आरोप छ ।
मुलुकको अर्थतन्त्रसँग सिधै जोडिएको औद्योगिक क्षेत्र ठप्प हुँदा सिङ्गो राष्ट्र नैं आर्थिक संकट पर्न सक्ने उद्योगी व्यवसायीहरु बताउँछन् ।
श्याम गुप्ता, बारा