समाचारबिहीबार, मंसिर १७, २०७२
बालसैनिक प्रयोग गरेकोमा सार्वजनिक माफी मागः पूर्व लडाकु
बहिगर्मित माओवादी लडाकुहरुले माओवादी युद्धका बेला आफूहरुलाई बाल सैनिकको रुपमा प्रयोग गरी बालशोषण भएको हुँदा तत्कालीन माओवादीका सबै नेतृत्व र सरकारले सार्वजनिक रुपमा क्षमा माग्नु पर्ने माग गरेका छन् ।
उनीहरुले आफूहरुलाई लडाकु शिविरबाट ‘अयोग्य’ भनेर विदा गरिएको, असमान रुपमा सुविधा दिइएकोले आफूहरुको अपमान भएको भन्दै आफ्नो नामको अघि लाग्ने ‘अयोग्य’ शब्द झिक्न पनि माग गरेका छन् ।
१६ मंसीरमा राष्ट्रिय मानवअधिकार आयोगलाई पत्र पठाउँदै उनीहरुले यस्तो माग गरेका हुन् ।
बहिगर्मित लडाकुहरुले ‘योग्य’ भनिएकाहरुले पाए सरहको सेवा सुविधा आफूहरुले पनि पाउनु पर्ने माग गरेका छन ।
उनहरुले तत्कालीन माओवादीले आफूहरुलाई कम उमेरमै काममा लगाएका कारण आफूहरुले अयोग्यको बिल्ला भिर्नु परेको र त्यसै आधारमा सुविधामा पनि कटौति हुनु न्यायोचित नहुने बताएका छन् ।
‘बहिर्गमित जमुक्ति सेना नेपाल’ को नामबाट संगठित उनीहरुले आयोगलाई पठाएको पत्रमा संगठनमा करिब ३ हजार जना आवद्ध रहेको र आफूलाई अयोग्य भनिएकोमा पाँच जना पूर्व ‘जनमुक्ति सेना’ ले आत्महत्या गरिसकेको समेत उल्लेख छ ।
उनीहरुले आफूहरु सरकार, प्रहरी प्रशासन र तत्कालीन माओवादी समूहबाट असुरक्षित रहेको भन्दै सरकारलाई तत्काल आदेश गरी सुरक्षाको प्रत्याभूति गराइदिन पनि आयोगसमक्ष माग गरेका छन् ।