समाचारबिहीबार, मंसिर १७, २०७२

वीरगञ्ज–रक्सौल नाकामा धर्ना बसेकामाथि भारतीय आक्रमण

हिमालखबर

वीरगन्ज–रक्सौल सीमा नाकामा धर्ना दिइरहेका मधेशी मोर्चाका नेता कार्यकर्ताहरुलाई हिजो राति र आज बिहान भारतीयहरुले आक्रमण गरेका छन् ।

भन्सार नाका ठप्प पार्न दशगजामा बसेका मधेशी दलका नेता कार्यकर्ताहरुलाई रक्सौलतर्फबाट आएका भारतीय नागरिकहरुको समूहले ढुङ्गाले हानेर लखेटेका छन् भने उनीहरुले मितेरी पुलमा धर्नाकारीले हालेको टेन्ट समेत भत्काएका छन् ।

हिजो, १६ मंसीर राति पनि धर्ना बसेकाहरुमाथि भारतीय नागरिकले आक्रमण गरेका थिए । राति ८ः३० बजे तिर रक्सौलको अहिरवा टोलबाट करिब एक सय जनाको संख्यामा लठठी भाटा बोकेर आएका भारतीयहरुले मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीहरु माथि आक्रमण गरेका हुन् ।

आन्दोलनकारीहरुले धर्ना स्थलमा लगाइएको टेण्ट भत्काएर वीरगन्जतर्फ अडकिएको एउटा भारतीय खाली ट्रकलाई रक्सौल छिराएका थिए ।

भारतीयको आक्रमणबाट आज विहान धर्ना बसेका वीरगञ्ज– १९ इनर्वाका शत्रुधन यादव र गहवा–१० की रेखा साह घाइते भएका छन् । यसअघि हिजो राति भारतीयहरुको आक्रमणबाट धर्नामा बसेका बाराको कलैयाका सुरेश साह कानु, फेटा– २ का रन्जित साह, दक्षिण झिटकैयाका रामदहिन यादव र नन्दु यादव तथा वीरगन्ज– १३ का फिरोज बाबु खान घाइते भएका थिए । घाइतेमध्ये कानूको अवस्था गम्भीर छ ।

घाइते सबैको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

अहिले आन्दोलनकारीहरु पुल वारी नेपाली भूमिमा र भारतीयहरु पुल पारी भारतीय भूमिमै छन् ।

भारतीयहरुले नेपाली मोटरसाइकललाई समेत भारत जान दिएका छैनन् । दुवै तर्फका प्रहरीको उपस्थिति छैन । आन्दोलनकारीहरुले धर्नामा बस्नका लागि बनाएको टेन्ट खाली छ ।

मोर्चाका कार्यकर्ताले सीमामा कुनै सवारी चल्न नदिने भन्दै सीमा क्षेत्रमा इन्धन बेच्न बसेका भारतीय नागरिकको इन्धन पोख्नुको साथै राति आक्रमणमा संलग्न भएको भनेर दुईजना भारतीयलाई हातपात गरेपछि स्थिति विग्रिएको हो ।

नेपालमा सामान खन्याएर भारत फर्कन लागेका खाली भारतीय ट्रकहरु रक्सौल छिराउनकै लागि भारतीयहरुले धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेका हुन् ।

वीरगन्ज भन्सार क्षेत्रमा करिब ३० वटा खाली ट्रकहरु नाकामा भएको अवरोधका कारण थन्किएर बसेका छन् ।

भारतीयहरुले धर्ना स्थलमा बसेकाहरुलाई कुटपिट गरेको खबर पाए लगत्तै वीरगन्ज र आसपासको क्षेत्रबाट थप आन्दोलनकारीहरु राति नै मितेरी पुलमा पुगेर नाका फेरि ठप्प पारेका थिए ।

धर्नामा बसेका अधिकांश आन्दोलनकारीहरु खाना खानको लागि रक्सौलमा सञ्चालित मेसमा गएको मौका छापेर भारतीयहरुले धर्ना स्थलमा आक्रमण गरेको मोर्चाका नेताहरुको दाबी छ ।

तेल तस्करहरुका कारण समस्या भएको संघीय समावेशी गठबन्धनका नेता विरेन्द्र यादवले बताएका छन् ।

मोर्चाका नेताहरुले समस्या समाधानको प्रयासमा भारतीय पक्षसँग कुरा गरिरहेका छन् ।

यसअघि १४ मंसीर बिहान पनि ट्रक रक्सौल छिराउन खोजेका भारतीय चालक र आन्दोलनकारीहरु बिच विवाद भएको थियो ।

१४ मंसीर बिहान ६ बजे वीरगन्जमा रोकिएका भारतीय खाली ट्रकका चालकहरुले आफ्नो गाडी भारततर्फ छिराउन खोजेपछि आन्दोलनकारीहरुसँग विवाद भएको थियो ।

आन्दोलनकारीहरुले भारत छिर्न नदिएपछि भारतीय चालकहरु मितेरी पुलबाट फर्काएका थिए ।

संविधान निर्माण र सीमांकनको विरोधमा मधेशकेन्द्रित दलहरुले वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा गत ७ असोजदेखि लगातार धर्ना दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>