समाचारबिहीबार, मंसिर १७, २०७२

केरुङ पुग्ने सडक सामान्य मर्मतसम्म भएन

हिमालखबर

भारतको नाकाबन्दीपछि चर्चामा आएको नेपाललाई चीनको केरुङसम्म जोड्ने सडक सामान्य मर्मतको अभावमा निकै असहज बनेको छ ।

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

काठमाडौंबाट रसुवागढी नाका राजधानीबाट दुरीको हिसाबले नजिकै भए पनि सडककोे दुरावस्थाले टाढा बनाएको छ ।

धादिङको गल्छी हुँदै रसुवागढी पुग्ने यो १५३ किमी लामो सडक साँघुरो र क्षतिग्रस्त भएकाले चीनको केरूङबाट सामान बोकेर आउने मालवाहक कन्टेनरहरु गुड्दा ठाउँ–ठाउँमा सडक जाम हुने गरेको छ ।

रसुवाको राम्चे, मुल खर्क, फुल खर्क, ठाडेको कज्बे, खोपाङ भीर र सानुभारको खोलामा सड्कको अवस्था निकै खराब छ । भुकम्पपछि गएको पहिरोबाट क्षति पुगेको सडकको मर्मत–सम्भार नियमित नगरिंदा पनि समस्या थपिएको हो ।

सडकमा डिभिजन सडक कार्यालयका केही डोजर देखिए पनि मर्मतको काम भने निकै सुस्त छ ।

चीनबाट सामान आयात गर्ने ब्यापारीहरुको संगठन नेपाल ब्यापार संघका अध्यक्ष कुमार कार्की सरकारले तत्काल साँघुरो र बिग्रेको सडकको मर्मत–सम्भार गरेर दोहोरो गाडी चल्ने बनाइदिए मात्रै पनि समस्या धेरै समाधान हुने बताउँछन् ।

रसुवाका प्रहरी प्रमुख डिएसपी अवधेश बिष्टका अनुसार सडक विभागका डोजरलाई संकटका लागि भनेर राखिएको इन्धन उपलब्ध गराउँदा पनि विभागले रफ्तारमा काम गरेको छैन ।

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

“केही ठाउँमा ट्रकका दुवै पांग्रा अटाउने सडक पनि छैन, त्यस्ता ठाउँमा डोजरले सडक सम्याएर ठूलो गाडी दोहोरो गुडने बनाइदिए सजिलो हुन्थ्यो,” विष्टले भने ।

रसुवाका सांसद जनार्दन ढकाल भने सरकारले सडक विभागलाई निर्देशन दिएपनि इन्धन अभावले काममा ढिलाई भएको बताउँछन् ।

“सडक विभागलाई उपलब्ध गराएको २ हजार लिटर डिजल रसुवागढीको भत्केको संरचना हटाउँदा सकिएपछि, आयल निगमलाई थप १२ हजार लिटर उपलब्ध गराइदिन भनेका छौं,” सांसद ढकालले भने ।

११ मंसीरमा उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार र अर्थमन्त्री विष्णु पौडेलले यस क्षेत्रको भ्रमण गरेका थिए ।

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

भ्रमणपछि अर्थमन्त्रीले आगमी २ वर्षभित्रै काठमाडौं–रसुवागढी सडक दुई लेनको बनाउने घोषणा गर्दै निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने बताएका छन् ।

योजना अनुसार काम भयो भने दुई वर्षमा सडक दुई लेनको बन्ला तर, अहिलेको संकट टार्न तत्काल सडक मर्मत गर्नु जरुरी छ । इमान्दारीपूर्वक काम हुने हो भने ठूला कन्टेनर सहजै आउजाउ गर्ने गरी सडकको स्तरोन्नती सहजै हुने देखिन्छ ।
डम्बरकृष्ण श्रेष्ठ, रसुवागढीबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>