समाचारशुक्रबार, मंसिर १८, २०७२
मोर्चासँगको वार्ता साँझ ५ बजे
प्रमुख तीन दल र मधेशी मोर्चासँग आज, १८ मंसीर साँझ ५ बजे वार्ता हुने भएको छ ।
आन्दोलनरत मधेशी मोर्चाका मागबारे साझा धारणा तय भएपछि मोर्चासँग वार्ता हुन लागेको हो । यसअघि १६ मंसीरमा हुने भनिएको वार्ता साझा धारणा नबनेकाले स्थगित गरिएको थियो । १७ मंसीर साँझको मन्त्रिपरिषद् बैठकले पनि वार्ताका आवश्यक शर्तहरु पूरा गर्ने निर्णय गरिसकेको छ ।
आज मोर्चासँग वार्ता गर्नुअघि तीन दलबीच छलफल हुने प्रधानमन्त्री केपी ओलीले बताएका छन् । ओलीले ट्वीट गरेका छन्, “आज साँझ ५ बजे सत्तापक्ष, प्रमुख प्रतिपक्ष र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता हुँदैछ । त्यसअघि प्रमुख तीन दलको बैठक बस्ने छ ।”
परराष्ट्रमन्त्री कमल थापा तीन दिने भारत भ्रमणबाट १७ मंसीरमा फर्केपछि बसेको मन्त्रिपरिषद् बैठकमा उनले भारतीय नेताहरुसँग भएको भेटवार्ताबारे जानकारी गराएका थिए । प्रमुख दलहरु साझा धारणासहित वार्तामा प्रस्तुत हुने भनिएकाले वार्ता निर्णायक हुनसक्ने मोर्चाका नेताहरुको पनि विश्वास छ ।
वार्ताकै लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुर तराई–मधेशमा भइरहेको आमसभा छाडेर काठमाडौं फर्किएका छन् । फोरम नेपालका नेता अजम्बर काङमाङ राईले सरकार गम्भीर भएर प्रस्तुत भए वार्ता निर्णायक हुनसक्ने बताए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले पनि वार्ता सकारात्मक गतिमा अघि बढेकाले निर्णायक हुनसक्ने बताए । उनले भने, “मोर्चाको प्रमुख मागहरुमा हामी सहमत छौं, सीमाकंनबारे छलफल गरेर सहमतिमा पुग्न सकिन्छ ।”
प्रधानमन्त्री निवास बालुवाटारमा १७ मंसीरमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको बैठकले संसद्मा दर्ता भएको विधेयक अघि बढाउने र सीमाकंन आयोग वा राजनीतिक समितिमार्फत टुंग्याउनेगरी साझा धारणा तय गरेको थियो ।
सुशील कोइराला सरकारले कम्तिमा एक जिल्लामा एक निर्वाचन क्षेत्र रहनेगरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशी व्यवस्था राख्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराइसकेको छ ।