समाचारशुक्रबार, मंसिर १८, २०७२
यस वर्षको एसएलसी चैत अन्तिम साता
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैतको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ ।
गत वर्ष ५ देखि १६ चैतसम्म सञ्चालन भएको परीक्षा यस वर्ष विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि केही दिन पर सारिने भएको हो ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षा नियन्त्रण कार्यालयले विगतका वर्षहरुमा झैँ समयमै परीक्षा सञ्चालन गर्न सक्ने गरी तयारी गरे पनि भूकम्प र मधेश आन्दोलनका कारण केही दिन परीक्षा सर्न सक्ने बताए ।
उनले भने, “एसएलसी परीक्षाका लागि प्रश्नपत्र बनाउने, उत्तरपुस्तिका छाप्न दिने प्रक्रिया भएको छ, परीक्षा चैतको पहिलो सातामा सञ्चालन गर्न सक्ने भए पनि पढाइ प्रभावित भएकाले केही दिन सर्न सक्छ ।”
गत १२ वैशाखको भूकम्पका कारण १४ जिल्लामा करिब डेढ महिना र अहिले मधेशमा जारी आन्दोलनका कारण बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहामा पढाइ प्रभावित भएपछि यस वर्षको एसएलसी परीक्षासमेत प्रभावित हुने भएको हो ।
तराईका जिल्लाबाट मात्रै एक लाख विद्यार्थीले एसएलसी दिनेछन् ।
तराईका जिल्लामा चैतको अन्तिम साता र अन्य जिल्लामा केही दिनअघि गरी दुईचरणमा परीक्षा सञ्चालन गर्नेबारेमा समेत छलफल भइरहेको कार्यालय स्रोतले जनाएको छ ।
रासस