अन्तर्वार्ता/विचारशनिबार, मंसिर ९, २०६९
कम्युनिष्ट विचार छाड्दैनौं: अशोक राई
तपाइँहरुको पार्टी गठन प्रक्रियाले निकै लामो समय लियो नि ?
पार्टी छोडेर जनजातिको मुद्दामा सहमति जनाउनेहरु मिलेर ६ महिनामा तदर्थ कार्य समिति बनाउन सक्नु चानेचुने कुरो होइन ।
पार्टी त माक्र्सवादी दर्शन बोक्नेहरूको मात्रै भयो हैन ?
हामीले माक्र्सवाद मात्र होइन संघीय समाजवाद पनि बोकेका छौं । संघीयता जातीय मुक्तिको लागि र समाजवाद वर्गीय मुक्तिको लागि भएकाले हाम्रो पार्टी नयाँ शक्ति निर्माणका लागि सफल हुनेछ ।
कम्युनिष्ट पार्टी परित्याग गरेर किन माक्र्सवाद छोड्न नसकेको ?
हामीले पार्टी मात्रै छोडेको, कम्युनिष्ट विचार होइन । माक्र्सवाद उत्पीडितको आकांक्षालाई बोक्ने वैज्ञानिक सिद्धान्त हो । तर, हामीले परम्परागत माक्र्सवादलाई अगाल्न खोजेको भने होइन ।
घोषणापत्रमा पहिचानमा आधारित संघीयता सहितको संविधान पार्टीको मुख्य एजेण्डा बनाउनुभएको छ, यसलाई स्थापित गर्न के–के चुनौती हुनसक्छ ?
जीवनमा जस्तै राजनीतिमा पनि चुनौती हुन्छ नै । एउटै एजेण्डा बोक्ने सकेसम्म एउटै पार्टीमा अटाउँछौ । एउटै पार्टीमा अट्ने स्थिति भएन भने सहकार्यमा जान्छै । त्यो पनि सम्भव नभए चुनावी तालमेलमा जान्छौं । जनताको चाहना स्थापित गर्न जनताकै बीचमा जाने हो । जनताबाटै अनुमोदित राजनीतिक शक्तिको हैसियत प्राप्त गर्न निर्वाचनमा गएर आगामी संविधानसभाबाट हाम्रो विचारलाई स्थापित गर्नेछौं ।
विगतका जनजाति पार्टी र तपाइँहरुको पार्टीबीच के फरक छ ?
हामी जातीय र वर्गीय मुक्तिलाई सन्तुलित रुपमा अगाडि लिएर जान्छौं ।
जातीय राजनीतिले समाज धु्रवीकृत भइरहेको अवस्थामा सामाजिक सद्भाव जोगाउन तपाइँहरुको कस्तो भूमिका रहन्छ ?
वैचारिक विकार बोकेका मानिसहरुले मात्रै हामीलाई जातीय पार्टी भनिरहेका छन् । जनजातिले नेतृत्व गर्दैमा पार्टी जातीय हुँदैन । हाम्रो पार्टी राष्ट्रिय पार्टी हो, हामी राष्ट्रिय समस्या समाधान गर्न केन्द्रित हुनेछौं । सबै भाषा, लिंग, वर्गको सअस्तित्व, समानता र सद्भाव अनि राष्ट्रिय एकतालाई जोड दिएर जाने रणनीति भएकाले हामीमाथि लगाएको आरोप स्वतः खण्डित हुँदै जाने छन् ।
जनजातिको नाममा यस अगाडि खुलेका पार्टीहरुले हैसियत बनाउनै नसकेको पृष्ठभूमिमा तपाइँहरु राजनीतिमा कसरी टिक्नुहोला त ?
जनताको चाहनाअनुरुप हाम्रो पार्टी निर्माण भएकाले जनताले नै हैसियत निर्धारण गर्ने छन् ।
नयाँ पार्टीले अबको राजनीतिक निकास कस्तो देखेको छ ?
अब संविधानसभाको निर्वाचनबाट सबै कुरा छिनोफानो गर्नु पर्दछ । यसका लागि राष्ट्रिय सहमति गरेर निर्वाचनको पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । निर्वाचन अगाडि बन्ने सरकार पनि सहमतिको सरकार हुनुपर्दछ ।
प्रस्तुति: गोविन्द लुइँटेल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
