थप समाचारशुक्रबार, मंसिर १८, २०७२
मधेशी–पहाडी मितज्यू
वीरगञ्जमा मधेशी पहाडी समुदायबीच मित लगाउने कार्यक्रमको थालनी भएको छ । सामाजिक सद्भाव नाजुक अवस्थामा पुगेका बेला नेकपा एमालेले दुई समुदायबीच मित लगाउने अभियान शुरु गरेको हो ।
१८ मंसीरमा वीरगञ्जको श्रीपुरमा कास्कीका शेखर गौतम र अमृत ढकालले क्रमशः पर्साका सुन्दर कुर्मी र आशिष पटेलसँग मित लगाए ।
गौतम अनेरास्ववियु कास्कीका अध्यक्ष हुन् भने ढकाल एमाले कास्कीकै सचिव । उनीहरुले मित लगाएका कुर्मी वीरगञ्ज एमालेका नेता हुन् भने पटेल अनेरास्ववियु पर्साका उपाध्यक्ष ।
गौतम र ढकालले कुर्मी र पटेललाई दौरा सुरुवाल उपहार दिए भने कुर्मी र पटेलले धोतीकुर्ता र गम्छा ।
मधेशमा मधेशी मोर्चाले आन्दोलन चर्काइरहेका बेला मधेशी र पहाडी बीच बढेको दुरी कम गर्न भन्दै अनेरास्ववियु कास्कीले मित लगाउने अभियानको शुरुवात वीरगञ्जबाट गरेको हो ।
‘हिमाल पहाड, तराइ कोहि छैन पराई, राष्ट्रिय एकताका लागि अनेरास्ववियुको मितेरी साइनो अभियान’ भन्ने नारा सहित आयोजित कार्यक्रममा कास्कीबाट आएका पहाडी समुदायका एमाले विद्यार्थी नेताहरुले वीरगन्जका मधेशी समुदायका नेताहरुसँग मितेरी साइनो कायम गरेको अनेरास्ववीयुका पूर्व केन्द्रीय सदस्य उमेश गुप्ताले बताए ।
अनेरास्ववीयु कास्की अध्यक्ष गौतमले मितेरी अभियान बारा, रौतहट, सर्लाही लगायत आन्दोलन चलिरहेका अन्य जिल्लाहरुमा पनि सञ्चालन गरिने बताए ।
सुरेश बिडारी, वीरगञ्ज