समाचारशुक्रबार, मंसिर १८, २०७२

मानवअधिकार आयोगले तराईबाट पाँचवटै टोली फिर्ता बोलायो

हिमालखबर

मधेशी मोर्चाका कार्यकर्ताले सर्लाहीमा गाडी जलाएपछि राष्ट्रिय मानवअधिकार आयोगले तराईमा अनुगमनमा खटिएका पाँचवटा टोलीलाई फिर्ता बोलाएको छ ।

तराईमा जारी आन्दोलनका क्रममा मानवअधिकारको अनुगमनका लागि खटिएका टोलीलाई आयोगले फिर्ता बोलाएको हो ।

१७ मंसीरमा सर्लाहीको नवलपुरमा मोर्चाका कार्यकर्ताले मानवअधिकार आयोगका मानवअधिकार अधिकृत नितु गौडतौलाको नेतृत्वमा मन्दिरा श्रेष्ठ, विभा ढुंगाना र श्रीराम कार्कीलगायतको टोली चढेको गाडीका साथै क्यामरा, महत्वपूर्ण कागजात र अनुगमनमा प्रयोग गरिने ज्याकेट जलाएका थिए ।

१८ मंसीरमा बसेको आयोगको आकस्मिक बैठकले उक्त कार्यको घोर भत्र्सना समेत गरेको छ ।

“आन्दोलनकारी मोर्चाका केन्द्रीय नेतृत्व स्वयमले आयोगमा उपस्थित भई मधेश आन्दोलनको निरन्तर अनुगमन गरिदिन लिखित तथा मौखिक अनुरोध समेत गरिएको सन्दर्भमा यस किसिमका वर्वरतापूर्ण घटना हुन जानुबाट आयोग गम्भीर छ,” आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगले सर्वसाधारण, सञ्चारकर्मी, मानवअधिकार रक्षक र मानवीय सेवामा खटिएका व्यक्तिमाथि आक्रमण, तोडफोड र आगजनी गर्ने तथा क्षति पुर्‍याउनेमाथि कारवाही गर्न सरकारलाई आग्रह समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “विगतमा पनि अनुगमनको कार्यमा कहिं कतैबाट व्यवधान नपुर्‍याइएको तथ्य स्मरण गराउँदै हालको आन्दोलनमा बिरामी बोकेका एम्बुलेन्स जलाउने, जिउँदै मान्छे जलाउने र औषधि बोकेको सवारी साधन जलाउने जस्ता कार्यको आयोग निन्दा समेत गर्दछ । समस्त मावन अधिकार रक्षक विरुद्ध भएको यस्ता आक्रमणका दोषि पत्ता लगाउन आन्दोलन आह्वानकर्तालाई आयोग आग्रह गर्दछ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>