समाचारशनिबार, मंसिर १९, २०७२

प्रमुख तीन दल र मधेशी मोर्चाबीच साँझ ७ बजे वार्ता हुने

हिमालखबर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सत्तारुढ दलहरु र मधेशी मोर्चाबीच आज, १९ मंसीर साँझ वार्ता हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजे वार्ता हुने आफूले जानकारी पाएको सदभावना पार्टीका महासचिव मनिषकुमार सुमनले बताए ।

प्रमुख तीन दल र मधेशी मोर्चाबीच हिंजो १८ मंसीर साँझ वार्ता हुने भनिए पनि मधेशी मोर्चाका नेताहरु नआएपछि स्थगित भएको थियो । मोर्चाका नेताहरु त्यसबेला भारतीय राजदूतावासमा पुगेका थिए ।

आज साँझ हुने वार्तामा कसरी प्रस्तुत हुने भन्ने साझा रणनीति तय गर्न मधेशी मोर्चाको बैठक अहिले संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा बसिरहेको छ ।

मधेशी मोर्चाका चारजना नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यादव भारतीय नेताहरुसँग भेट्न दिल्ली जाने तय भइसकेको छ ।

२० मंसीरमा उनीहरुले भारतीय विदेशमन्त्री सुष्मास्वराज लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम अनुसार तमसपा अध्यक्ष महेन्द्रराय यादव र सदभावना अध्यक्ष राजेन्द्र महतो आज भारतको सीतामढी–पटना हुँदै दिल्ली तर्फ लागिसकेका छन् भने फोरमका यादव र तमलोपाका ठाकुर भोली विहान त्यसतर्फ जाने तय भइसकेको छ ।

आज तीनदलसँगको वार्तामा चिया गफबाहेक थप उपलब्धि केही नहुने सदभावना महासचिव सुमनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>