समाचारशनिबार, मंसिर १९, २०७२
मुलुकको परिस्थितिबारे कुरा गर्न दिल्ली जाँदैछौंः मधेशी मोर्चा
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले भारतका नेताहरुसँग मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नयाँ दिल्ली जान लागेको बताएका छन् ।
१९ मंसीरमा प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यादव आइतबार, २० मंसीरमा नयाँ दिल्ली जान लागेको औपचारिक जानकारी गराएको हो ।
आयोगको गाडी जलाइएकोमा दुख
त्यस्तै सर्लाहीको नवलपुरमा आयोजित विरोधसभामा राष्ट्रिय मानवअधिकार आयोगको गाडी जलाइएकोप्रति मधेशी मोर्चाले दुख व्यक्त गरेको छ ।
१७ मंसीरमा मधेशी मोर्चाका कार्यकर्ताले सर्लाहीको नवलपुरमा अनुगमनका लागि पुगेको आयोगको गाडीसाथै कागजात र सामानहरु जलाएका थिए ।
मोर्चाले मानवअधिकारको रक्षा र सम्मानप्रति पूर्ण प्रतिवद्ध रहेको जनाउँदै एम्बुलेन्स सेवा, रेडक्रस, विदेशी कुटनीतिज्ञ, प्रेस, दमकल, शवबाहन, औषधि र मानवअधिकार लगायतका सवारी साधनहरु निर्वाधरुपमा चल्न दिई र आवश्यक परेमा सहयोग गर्न समेत आह्वान गरेको छ ।
सरकारले आन्दोलनमा दमन गरी वार्ता भाँड्न खोजेको पनि मोर्चाले आरोप लगाएको छ ।