समाचारशनिबार, मंसिर १९, २०७२
तीन दल र मधेशी मोर्चाबीचको वार्ता निष्कर्षविहिन
सत्तारुढ दल, नेपाली कांग्रेस र मधेशी मोर्चाबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । यद्यपी वार्ता सकारात्मक भएको सहभागी नेताहरुले बताएका छन् ।
१९ मंसीर राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाबीचको वार्तामा एक दिनअघि तीन प्रमुख दलले तयार पारेको साझा प्रस्ताव मोर्चाले अस्वीकार गरेको छ ।
प्रमुख प्रतिपक्षी सहित सत्तारुढ दलहरुले मोर्चाको ११ बुँदे माग बारे हिजो १८ मंसीरमा साझा अवधारणा बनाएका थिए ।
मोर्चासँग त्रिपक्षीय वार्ता हिजै हुने भनिए पनि मोर्चा बैठकमा सहभागी नभएपछि आज राति अबेर वार्ता भएको हो ।
मोर्चाका नेताहरु भारतीय नेताहरुलाई मुलुकको परिस्थितिबारे अवगत गराउन भन्दै भोली २० मंसीरमा नयाँ दिल्ली जाँदैछन् ।
आज भएको वार्तामा प्रधानमन्त्री केपी ओलीले मोर्चाका नेताहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरे भने मोर्चाका नेताहरुले पनि आन्दोलन लम्बाइरहन आफूलाई रहर नभएको बताएका थिए ।
दुवैपक्षले आन्दोलनमा मृत्यु भएकाका परिवारलाई सरकारले दिएको क्षतिपूर्ति, घाइतेको उपचार लगायतका विषयमा अध्ययन अनुगमन गर्न कानूनमन्त्री अग्नि खरेल र फोरमका उपाध्यक्ष लालबाबु राउत संलग्न दुइसदस्यीय कार्यदल गठन गरेको छ ।