समाचारआइतबार, मंसिर २०, २०७२

परराष्ट्रमन्त्री थापाले भारत भ्रमणबारे संसद्‌मा जानकारी दिन पाएनन्

हिमालखबर

मधेशकेन्द्रित दलका सांसद्को नाराबाजीका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि अवरुद्ध भएको ।

निर्धारित समयभन्दा दुई घन्टा ढिलो शुरु भएको बैठकमा राष्ट्रिय गान सकिनेबित्तिकै मधेशी केन्द्रित दलका सांसदहरुले नाराबाजी शुरु गरे ।

निरन्तर नाराबाजी भइरहेपछि उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणबारे संसद्‌मा जानकारी गराउन पाएनन् । मुलकको समसामयिक अवस्थाबारे सरकारको धारणा स्पष्ट गर्न परराष्ट्रमन्त्री कमल थापाले जानकारी गराउने भएकाले शान्त एवम् संयमित भई बैठक सञ्चालनमा सहयोग गर्न सभामुखले पटकपटक अनुरोध गरेकी थिइन् ।

मन्त्री थापाले भारतीय नेताहरुसँग भएको कुराकानी बारे पनि संसदलाई जानकारी गराउने कार्यक्रम थियो ।

बैठकमा एमालेका सांसद् राजेन्द्र पाण्डेले अख्तियारको कामकार्बाहीप्रति बोल्न भन्दै समय लिएका थिए ।

नेपाल मजदूर किसान पार्टीका सांसदले भारतीय राजदूतलाई फिर्ता पठाउन माग गर्दै र भारतीय नाकाबन्दी विरुद्ध नाराबाजी गरेका थिए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टीका सांसदले आआफ्नो आसनमा नबसी नाराबाजी र आफ्ना कुरा भन्न थालेपछि सभामुखले बोल्न समय दिने भन्दै बस्न आग्रह गरेकी थिइन् ।

सभामुखले मुलुकको समस्या सम्बोधन गर्ने गरी ‘नेपालको संविधान’ (पहिलो संशोधन), २०७२ प्रस्तुत गर्ने कार्यसूची रहेकाले सबै समस्याको निकास सदनबाटै खोज्न सकिने पटक पटक बताउँदै प्रक्रियामा प्रवेशका लागि सहयोग गर्न आग्रह गरिन् ।

सभामुखको अनुरोधलाई बेवास्ता गर्दै विशेषगरी मधेशकेन्द्रित दलका सांसदले सभामुखको आसन अगाडि आएर नाराबाजी गरेपछि सभामुख ओनसरी घर्तीले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगन गरिएको घोषणा गरिन् ।

आजको बैठकमा प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् कार्यालयबाट सदनलाई प्राप्त पत्र वाचन गर्ने र महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची थियो । लामो समयदेखि उक्त प्रतिवेदन सदनसमक्ष प्रस्तुत हुन सकेको छैन ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>