समाचारआइतबार, मंसिर २०, २०७२
सुदूरपश्चिममा इन्धन आयातमा केही सहज
सुदूरपश्चिम क्षेत्रका लागि इन्धन लिन गएका सबै गाडीहरुमा केही दिनदेखि भारतीय आयल निगमको बन्थरा डिपोले इन्धन भरी पठाउन थालेको छ ।
नाकाबन्दीका कारण एक हप्ताअघिसम्म दैनिक बढीमा चार/पाँच गाडीमा मात्रै इन्धन भरी पठाउने बन्थरा डिपोले चार दिनदेखि इन्धन लिन गएका सबै गाडीमा इन्धन भरिदिने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।
बुधबार पेट्रोल र डिजेलका १६ गाडी इन्धन उपलब्ध गराएका उनीहरुले बिहीबार १४ गाडीमा इन्धन भरी पठाएका थिए । यस्तै शुक्रबार चार गाडी भित्रिएकामा शनिबार थप २० गाडीमा इन्धन भरी पठाएको कार्यालयका सूचना अधिकृत शिवराज भण्डारीले बताए ।
उनले भने, “नाकाबन्दीयता पहिलो पटक जति गाडी पठाए पनि सबैमा लोड गरी दिन थालेको छ ।”
इन्धन आयातको परिमाण बढेको भए पनि सुदूरपश्चिममा अझै पनि यसको अभाव भने यथावत रहेको छ ।
भित्रिने न्यून परिमाणको इन्धन बिक्री वितरण मंसीर पहिलो हप्तादेखि जिल्ला आपूर्ति समितिको निर्णय बमोजिम सुदूरपश्चिममा गर्ने गरिएको छ ।
उता कैलाली भन्सार कार्यालयले पनि केही दिनदेखि मालबाहक गाडी सहज रुपमा भित्रिइरहेको जनाएको छ ।
शुरुको अवस्थाको तुलनामा कैलाली भन्सार कार्यालय सीमा नाकाबाट मालबाहक गाडी बिनाअवरोध भित्रिइरहेको कार्यालयका अधिकृत मानप्रशाद विकले बताए ।
“सुरुको अवस्थामा दैनिक ५/६ गाडीमात्रै भित्रिने गरेका थिए विकले भन्नुभयो – केही दिनदेखि दैनिक ५०/६० मालबाहक गाडी भित्रिइरहेका छन् ।”