समाचारसोमबार, मंसिर २१, २०७२
भारतीय राजघरानाद्वारा नाकाबन्दी खुलाउन माग गर्दै मोदीलाई पत्रचार
भारतले नेपालमाथि लगाएको नाकाबन्दी खुलाउन माग गर्दै अवागढका कुँवर नरेन्द्र सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ पत्र लेखेका छन् । नेपालमा राजघरानादेखि आम जनताबीच भएको रोटीबेटीको सम्बन्धको गम्भीरतालाइ मनन् गर्दै सिंहले भारतको लापरवाहीले नेपालमा चीनको दबदबा बढनेतर्फ सचेत हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताएका छन् ।
भारतबाट प्रकाशित हिन्दी पत्रिका दैनिक जागरणका अनुसार २० मंसिरमा नेपालबाट कुँबर सिहंकी बहिनी राजकुमारी शशिप्रभाले नेपालको जनजीवन अस्तव्यस्त भइसकेको गुनासो गर्दै फोन गरेकी थिइन् । उनले इन्धन, विजुली लगायतका अत्यावश्कीय सामग्रीको अभाव रहेको बताएकी थिइन् । नरेन्द्र सिंहकी बहिनी शशिप्रभाको विवाह स्व.राजा बीरेन्द्रका सानीमाका छोरा बसंतविक्रम शाहसँग भएको थियो ।
समस्या समाधानका लागि नेपालमा रहेका आफन्तहरुको आग्रहले नै भारतमा भएका राजघरानाहरु एकजुट भएर प्रधानमन्त्री मोदीसँग भेट गर्ने निर्णयमा पुगेको बताए ।
कश्मीरको राजघरानाका सदस्य तथा भारतीय काँग्रेसका वरिष्ठ नेता डा. करण सिंह, ग्वालियरको सिधिंया परिवार, छत्तीसगढका सरभुजा परिवार, जोधपुरका राजघरानालगायत देशभरका पूर्व राजपरिवारहरुको नेपालमा वैवाहिक सम्बन्ध गाँसिएको छ । यी राजपरिवार सदस्य नेपालमा पनि जाने दैनिक जागरणले जनाएको छ ।
त्यसो त नाकाबन्दी खुलाउने तीब्र प्रयासको गति दिल्लीमा पनि देखिएको छ । भारतभित्रै चुलिएको विपक्षी दल, बौद्धिक तथा नागरिक समुहको आवाज तथा नेपालमा भारत विरोधी भावनाले दिल्लीमाथि थप दबाब सिर्जना भएको छ ।
मधेशवादी दलका नेताहरुले २० मंसिरमा भारतीय विदेशमन्त्री सुषमा स्वराजदेखि जेडियूका नेता शरद यादब, कांग्रेस नेता करण सिंह, डिपि त्रिपाठी लगायतसँग भेटघाट गरिसकेका छन् ।
२१ मंसिर बिहान नेपालका लागि भारतका पूर्व राजदूतहरुसँग पनि भेटघाट गरेका छन् । पूर्वराजदूत एवं रक्षा अध्ययन मामला केन्द्रका प्रमुख जयन्त प्रसाद, देव मुखर्जी, श्याम शरण, शिवशंकर मुखर्जीलगायतलाइ भेटेका थिए ।
२१ मंसीर अपरान्ह भारतीय जनता पार्टीका नेताहरुलाइ भेटने कार्यक्रम रहेको मधेसवादी दलहरुको भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार तथा प्रधानमन्त्री मोदीसँगको कार्यक्रम भने तय भईसकेको छैन् ।
–आशा थपलिया, नयाँ दिल्ली
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
