समाचारसोमबार, मंसिर २१, २०७२
‘जनताको संविधान, जनताकै माझमा’
सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियान शुरु गरेको छ ।
‘नेपालको संविधान–जनताको संविधान’,‘जनताको संविधानः जनताकै माझमा’ नारा दिइएको राष्ट्रिय अभियानको विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरे ।
समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएपछि सात दशक लामो नेपाली जनताको आकाङ्क्षा पूरा भएको र यसले पटकपटकका राजनीतिक सङ्घर्षको उपलब्धिलाई संस्थागत गरेको बताए ।
संविधानले सबै जातजाति, वर्ग, क्षेत्र, लिङ्ग, धर्मको अधिकारलाई सुनिश्चित गर्नुका साथै पूर्ण समावेशीताको सिद्धान्त अपनाएकाले यसबारेमा रहेका नकारात्मक भ्रमलाई चिर्नुपर्नेमा जोड दिँदै उनले भने, “कसैलाई भ्रम नहोस् संविधानले सबै जातजाति, वर्ग, क्षेत्रलाई समान हकअधिकार र अवसर प्रदान गरेको छ ।”