समाचारसोमबार, मंसिर २१, २०७२
सीमाकंन सच्याउन तयारः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाकंनका विषयमा मधेश केन्द्रीत दलहरुले निहुँ खोज्ने काम मात्रै गरिरहेको बताएका छन् ।
चितवनमा आयोजित विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “संविधान बनेको ६५ वर्ष बित्दा पनि भारतमा प्रदेशको सीमाङ्कन हेरफेर भइरहेको छ । हामी यसमा छलफल गर्न तयार छौँ, सच्याउन सकिन्छ ।”
सीमाङ्कन भूगोल र जनसङ्ख्याका आधारमा व्यावहारिक हुने गरी गर्नुपर्ने बताउँदै उनले प्रदेशको राजधानी, नामाङ्कन लगायत विषय बाँकी रहेकाले तिनीहरुलाई पनि एकै पटक छलफल गरेर टुङ्ग्याउन सकिने बताए ।
भौगोलिक, प्रशासनिक र स्रोतको समान उपभोग हुने गरी प्रदेश व्यवस्थित गर्न सकिने उनले बताए । पार्टीभित्रका शीर्ष नेताहरुको असाधारण एकताकै कारण मुलुकका सबै सफलता मिलेको बताउँदै उनले सङ्ख्याको हिसाबले दोस्रो रहे पनि एमाले वैचारिक र राजनीतिक हिसाबले पहिलो पार्टी भएकाले देशलाई डोर्याउने भूमिका पनि आफूहरुकै काँधमा रहेको बताए ।
प्रधानमन्त्री ओलीले मधेशी जनताप्रति एमाले सबैभन्दा बढी चिन्तित रहेको बताए । उनले नेपालका हिमाल, पहाड, मधेस र तराई जहाँ जो बसे पनि सबै नेपाली भएको बताउँदै एकार्काका बीचमा मानवीय दृष्टिले बन्धुत्वको व्यवहार गर्ने काममा एमाले कहिल्यै पछि नहट्ने बताए ।