समाचारसोमबार, मंसिर २१, २०७२

सार्वभौम नेपालले भारतको सुझाव नलिन सक्छः भारतीय सांसद्

हिमालखबर

भारतीय राष्ट्रिय कंग्रेसका सांसद् मणि शंकरले भारतको सुझाव लिने कि नलिने भन्ने कुरा नेपालका नेताहरुको आफ्नो निर्णय भएको बताएका छन् ।

राज्यसभामा बोल्दै शंकरले भने, “मैले धेरै पटक सुने, नेपालले सुझाव लिएन । सुझाव दिने कुरा हो, लिन्न भनिसकेपछि किन दबाव दिने ?” उनले यो दबावबाट नेपालमाथि हेपाहा प्रवृत्ति देखिएको बताए ।

शंकरले भने, “म नेपाली जनतालाई भन्न चाहन्छु, भारतले होइन मोदी सरकारले नेपालमा नाकाबन्दी गरिरहेको छ ।” उनले मोदीले मधेशका नेताहरु बोकेर नेपालमा नाकाबन्दी गरिरहेको बताए ।

“मधेशबाट निर्वाचित १०५ जनाले संविधानमा हस्ताक्षर गरेका छन् र ११ जनाले बहिष्कार गरेका छन् । हामीले यो तथ्य कसरी भुल्यौं ?”, उनले भने, “अहिले दिल्ली आएका चार जना मध्ये एक जनाले मात्रै चुनाव जितेका हुन् ।”

अर्का सांसद रेणुका चौधरीले कुटनीति बुझ्ने सामान्य मानिसले पनि नेपालमा भारतले नाकाबन्दी गरेको थाहा पाएको बताइन् । उनले संविधानसभाले संविधान पारित गर्ने अन्तिम समयमा एस जयशंकरलाई नेपाल पठाएर दबाव दिनुले सार्वभौम देशमाथिको हस्तक्षेप प्रष्ट भएको बताइन् ।

भारतीय कम्यनिष्ट पार्टी मार्क्सवादीका सांसद टीके रंगराजले संविधानसभाबाट संविधान जारी गर्दा हरेक देशमा समस्या हुने बताए । उनले भने, “हाम्रै देशमा पनि समस्या थियो, तर तेस्रो देशको हस्तक्षेप स्वीकारेनौं ।”

उनले नेपालको समस्या नेपालीले नै समाधान गर्नुपर्ने बताए । राज्यसभामा त्यहाँ १४ सांसदले बहस गरेपछि परराष्ट्रमन्त्री सुस्मा स्वराजले जवाफ दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>