समाचारबुधबार, मंसिर २३, २०७२
पुनःनिर्माण विधेयक पारित
व्यवस्थापिका–संसद्, विधायन समितिले पुनःनिर्माणसम्बन्धी विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।
समितिका सदस्यहरुले विधेयक संशोधन वा यथावत रुपमा आजै पारित गर्न जोड दिएपछि सदस्य नवीन्द्रराज जोशीले पेस गरेको ‘दफा ३३ को खण्ड (घ) र (ङ) थप गरी क्रम मिलाउने र (ङ) मा सो अध्यादेशबमोजिम नेपाल सरकारले गरेका नियुक्ति यसै ऐनबमोजिम मानिनेछ’ भन्ने सुझावलाई समावेश गरेर पारित गरेको हो ।
समितिका सभापति गङ्गा चौधरीको सभापतित्वमा बसेको बैठकमा सदस्यहरू रामनारायण बिंडारी, प्रेमबहादुर सिंह, राधेश्याम अधिकारी, लक्ष्मणलाल कर्ण, रेवतीरमण भण्डारी, कर्णबहादुर थापालगायतले भूकम्पबाट प्रभावित जनताले आठ महिना पीडा भोगिसक्दा पनि ऐनको अभावमा तिनलाई राहत तथा पुनःस्थापनाको कार्यगर्ने प्रयत्न नभएको चर्चा गर्दै अब पनि यो विधेयक रोकेर राखे जनताको श्राप लाग्ने बताएका थिए । रासस