समाचारशुक्रबार, मंसिर २५, २०७२
नेपालको सहमति बिना दशगजामा बाँध बनाउँदै भारत
नेपालको सहमतिबिनै कञ्चनपुरको परासनस्थित नेपाल–भारत दशगजा क्षेत्रमा भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो बाँध बनाउन शुरु गरेको छ ।
परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म भारतले नेपालको सहमती बिना नै करिब तीन किमी लम्बाइको माटो बाँध बनाउन शुरु गरिएको हो ।
दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा भारतीय पक्षले नेपाली पक्षसँग सहमति गर्नुपर्ने भए पनि त्यसो नगरी एकपक्षीय रुपमा भारतीय वन विभागले बाँधजस्तो संरचना बनाइरहेकाले त्यससम्बन्धमा जानकारी लिइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद अर्यालले बताए ।
दुई देशीय सीमा क्षेत्रमा कुनै एक पक्षले कुनै पनि संरचना बनाउन नपाइने अन्तर्राष्ट्रिय मान्यता भए पनि बीचफाँटाको दशगजामा भारतीय पक्षले बेलाबेलामा मनोमानी गरिरहेको सीमा क्षेत्रका जानकार कुबेर नाथ बताउनुहुन्छ ।
नेपाल भारत सीमा स्तम्भमा भारतीय पक्षले तीन मिटर अग्लो बाँधजस्तो देखिने संरचना बनाए पनि नेपाली पक्षले रोक्न समयमा पहल नगरेपछि समस्या बल्झिरहेको समाजसेवी अमरजन साउदको भनाइ छ ।
परासनको बीचफाँटामा भारतले २०६० देखि पटकपटक सीमाको अतिक्रमण गरिरहेको र अहिले आएर फेरि दशगजा नै मिचिने गरी बनाएको बाँध जस्तो संरचनाबारे संसद्को ध्यानाकर्षण गर्न पहल गर्ने क्षेत्र नं १ का सभासद् दिवानसिंह विष्टले बताए ।
नेपाल सरकारले यहाँको सीमा क्षेत्रको वैज्ञानिक रूपमा खोज र दशगजा निर्माणमा पहल नथाल्दा सीमा व्यवस्थित हुन नसकेको दुःखेसो स्थानीयवासीको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
