ब्लगशुक्रबार, मंसिर २५, २०७२
प्रगतिको गाडी
उनलाई लाग्छ– इलमबाट आर्थिक प्रगति गरे सब कुरा अघि बढ्छ, नत्र सबथोक जहाँको त्यहीं!
नेपालभरका अक्करे भीरहरूमा निर्माणाधीन सडकहरूमा मस्तको गाना सुन्दै जीप हाँक्ने गुरुजीहरू मलाई जादूगर जस्ता लाग्छन् । उनीहरूका मनको बात सुन्ने मेसो जुराउँदै गर्दा जाजरकोटको तलि बजारमा भेटिए, मिजासका पनि धनी नवीनकुमार भण्डारी (३७)। व्यथाका कहानी खोज्नै पर्दैन, मलाई कहर जित्ने विजेता भेट्नु थियो। मैले खोजेको पात्र बजारमा बन्दै गरेको स्टाइलिस क्याफेमा कफीको चुस्की लिंदै रहेछन्। परिचयसँगै उनले छरेको अर्गानिक मुस्कानको मैले तारिफ गरें, त्यसमा झन् कसी लाग्यो।
आठ पास गरेको १७ वर्षे उमेरमा दाङको लोकल बससँग साइनो जोडियो, खलासीको रूपमा। ड्राइभिङ सीटमा बस्न खूब मन लाग्ने, तर ड्राइभरले बस्नै नदिने। पछिपछि गुरुजीलाई फकाएरै ड्राइभिङ सिके। त्यही बीचमा महेन्द्रनगर–काठमाडौं चल्ने बसमा कन्डक्टर पनि बने। त्यसपछि रोल्पा–दाङ चल्ने बस चलाए। रहरै उखरमाउलो भएकोले जस्तै भीरमा पनि डर नलाग्ने।
त्यसपछि पोखरा–बाग्लुङको सहज सडकमा पुगे। त्यता हुँइकिंदा–हुँइकिंदै लोकदोहोरीमा दिल बस्यो। मान्छेहरूको लवज र चरेसका थालको खाना पनि एकदमै मन पर्यो। यसरी देश चियाउन थालेका नवीनमा तन्नेरी परिपक्वता आएसँगै बायोडाटा पनि बलियो हुँदैगयो।
त्यहीबीचमा कपडा व्यापारी साथीसँग मतो मिल्दा मोटर हाँक्ने कामलाई केही समय हापेर अन्य तीन तन्नेरीसँगै लागे सिंगापुरतिर। व्यापारी साथी फरर उटपट्याङ इङ्गलिस बोल्थे, तीन जना मट्ठै। विना भिसा डरले थुरुरु हुँदै मलेशियाको बोर्डर पुग्दा हेड दोस्तले सब सम्हाले। हेडले बोर्डर पुलिसलाई पासपोर्टमा २० डलर राखेर बुझाएपछि उनीहरू डुंगामा सवार भएर मलेशिया पुगे।
डेक्ची–ड्राइभर त कसो नपाइएला भन्ने आँटले मलेशिया त पसियो, तर पुलिसले भेट्ला भनेर थर्थरी। डेरा–सेरा केही छैन, जहाँ रात पर्छ त्यतैको चौरमा सुत्ने। बल्लतल्ल नेपाली एम्बेसीमार्फत गरेको प्रक्रियाले एक महीने भिसा लाग्यो। त्यसरी महीनाको ११ सय रिङ्गिटमा सेक्युरिटी गार्डको काम थालेका नवीनको भिसा थपिंदै र तलब पनि बढ्दै २१०० रिङ्गिट पुग्यो। तर, टिप्स–सिप्स समेतबाट दुई लाख भएपछि मलेशिया बस्न मनै लागेन र फर्के।
विदेशको कमाइमा स्वदेशको ऋण समेत थपेर दाङ–सल्यान रुटमा आफ्नै गाडी चलाउन थालेका उनी अहिले दुइटा बलेरो जीपका मालिक बनेका छन्। तीमध्ये एउटा आफैं हाँकिरहेका छन्, जाजरकोट–रुकुमको डरलाग्दो सडकमा। उनको लागि यहीं मलेशिया, यहीं सिंगापुर भएको छ। मासिक आम्दानी रु. एक लाखको हाराहारीमा छ। दुई छोरी दाङमा बोर्डिङ स्कूलमा पढिरहेका छन्।
श्रीमती र बाबुआमा दाङकै घरमा बस्छन्। जीवनमा धेरै पढ्न नपाएको अफशोचलाई पढेको बेरोजगारभन्दा नपढेको स्वरोजगार हुनसकेको सन्तोषले बिर्सिरहेका नवीनको जीपमा थरीथरीका मान्छे चढ्छन्। गाडीमा चर्को गाना बजिरहेको हुन्छ, तैपनि कोही कानमा एअरफोन लाएर आफ्नै गानामा मस्त हुन्छन्। रेयरभ्यू मिररबाट त्यो हेर्दा उनलाई हाँसो उठ्छ रे! गाउँमा भर्खर जीप चलेको छ। मान्छेहरू एक किलोमीटर बाटोका लागि पनि घन्टौं मोटर पर्खन्छन्। गाउँका त्यस्ता प्यासेन्जरले ‘अहिले पैसा छैन, पछि दिन्छु’ भन्दा उनी बाँकी राखिदिन्छन्।
पढाइ अपुरो भएकोमा कताकता दुख्छ नवीनलाई। किन छाडेको त स्कूल? तिनताका माओवादीको ‘क्रान्ति’ ले गति लिएको थियो। त्यसका एक नायक रहेका उनका गुरु कृष्णबहादुर महरा बुर्जुवा शिक्षाको विरोधी थिए। एक बिहान महराको घरमा पढ्न गएका वेला पुलिस आए। महरा सारी लगाएर गाग्री बोकेर ‘घरमा कोही छैन’ भन्दै बाहिरिए। पुलिसहरू फर्के। त्यो देखेर उनलाई महरा जादूमय लाग्यो– अनि लाग्यो यिनले नसके कसैले बदल्न सक्दैन संसार!
त्यसरी बुर्जुवा शिक्षा हापिदिएका उनी माओवादीको कार्यक्रममा जंगल र भीर छिचोल्दै हिंडे। क्रान्तिका कुरा सुन्दा दंग पर्थे। पुलिसले थाहा पायो। कति पटक त चौकी धाउनुपर्यो। उता माओवादी पनि रिसाए। कैले पुलिस त कैले माओवादी– यो तानातानबाट आजित नवीनले क्रान्ति मात्रै हापेनन् बरु गाउँ नै छाडिदिए। एक बिहान ट्रकमा चढेर बुटवलतिर लागे, अनि शुरू भयो, नयाँ जिन्दगी।
अहिलेको उनको जिन्दगी त्यहींबाट शुरू मिहिनेतले बनाएको हो, क्रान्ति र डिग्रीले होइन। “आजकल मान्छेहरू कि अधिकारको कुरा गरिरहेका हुन्छन्, कि त जागीरको लागि मरिहत्ते गरिरहेका भेटिन्छन्”, अब जाजरकोट टु काठमाडौं बस हाल्ने सुरमा रहेका नवीनले बातको बिट मार्ने क्रममा भने, “इलमको कुरा गर्ने त भेट्नै मुश्किल!”