समाचारआइतबार, मंसिर २७, २०७२
भूकम्प पीडितलाई जाडो काट्न मुश्किल
सिन्धुपाल्चोकको चौतारा–९ का ८६ वर्षीय रणबहादुर भुजेललाई यस वर्षको जाडो कटाउन हम्मेहम्मे परिरहेको छ ।
वरिपरि खुला रहेको जस्ताको टहरामा एउटा गुन्द्री र पातलो ओढ्नेको भरमा रात गुजार्नु पर्दा चिसोले यस वर्षको हिउँद कटाउन हम्मे परेको हो ।
हुप्प फुलेको मुहार, आँखाभरि कचेरा, कान कम सुन्ने र पक्षघातका रोगी एकल पुरुष भुजेललाई सरकारले न्यानो कपडा किन्न दश हजार दिने कुरा समेत थाहा नभएको बताउँछन् ।
“यो वर्षको जाडो कटाउन ज्यादै मुस्किल पर्ने भो, बाँचिन्न कि क्या हो ?” उनी मसिनो आवाजमा प्रश्न गर्छन् – “भुइँचालोले यस्तो हबिगत गरायो ।”
गाउँमा विभिन्न संस्थाले दिएको मण्डी समेत आफूहरुले नपाएको उनको परिवारले गुनासो गरेका छन् ।
मगुवा गाउँका ८३ वर्षीय कालु गुरुङको पनि उनकै जस्तो हबिगत रहेको छ । कान नसुन्ने गुरुङ त्रिपालको भरमा रात गुजार्न विवश छन् ।
पच्चीस वर्षको उमेरमा श्रीमान् गुमाएकी ठुलोसिरुवारी ४ पाँचमुरेकी ५१ वर्षीया चिनीमाया तामाङको कष्ट भनिसाध्य छैन ।
जस्ताको टहरामा चारैतिर चिसो र भुइँ झनै चिसो भएपछि रात कटाउन ज्यादै कठिन भएको बताउँछिन् ।
छोराबुहारी र नातिनातिना सहित ५ जनाको परिवारसँगै बस्दै आएकी तामाङ गुनासो गर्छिन् – “सरकारले घर बनाउन दिने भनेको रकम कहिले दिने हो पत्तो छैन । न्यानो कपडा किन्न दिने भनेको दश हजार पनि जाडो सकिएपछि मात्र दिने हो कि ?”
यिनीहरु मात्र नभई जिल्लाका करिब ८० हजार परिवारको यस्तै व्यथा र पीडा छ ।
वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पले प्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोकमा बढी धनजनको क्षति भएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार जिल्लामा ३ हजार ५६६ जनाको मृत्यु भएको छ ।
यसमा पुरुष एक हजार ५६, महिला एक हजार ५५५, बालक ४४३ र बालिका ५१२ छन् । त्यस्तै एक हजार ५६९ जना घाइते भएका छन् ।
यसैबीच, नेपाल सरकारले न्यानो कपडा किन्न दश हजारका दरले दिने भनिएको ७० करोड बजेट निकासा भएको छ ।
उक्त रकम भूकम्पपीडितलाई वितरण गर्न सोमबारदेखि गाविसमा निकासा पठाइने सहायक प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिए ।
पछिल्लो जनगणनाअनुसार जिल्लामा ६६ हजार ३ सय घरधुरी रहेका छन् ।
भूकम्पपीडित परिचयपत्र बनाउने ८४ हजारलाई रु १५ हजार राहत वितरण गरिएको सन्दर्भमा अहिले झन्डै रु १४ करोड घटी निकासा आएको छ ।
रकम कम आएकाले वितरण गर्न समस्या भएको सप्रजिअ आचार्यले भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
