समाचारसोमबार, मंसिर २८, २०७२
राजेन्द्र महतो भन्छन्, ‘भारतीय सदिक्षाले नाका खुकुलो हुँदै गयो’
तराई–मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चा घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तत्काल आन्दोलन रोकिने संभावना नरहेको बताएका छन् ।
उनले सीमाकंनसहित संविधान संशोधन भएपछि मात्रै मधेश आन्दोलन र नाकाबन्दी रोकिने बताए । वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै महतोले भने, “माग पुरा गराउन अन्तिम धक्का दिने तयारी गर्दैछौं ।”
उनले मोर्चाको कुनै नयाँ माग नभएकाले ११ बुँदे नै कार्यान्वयन हुनुपर्ने बताए । महतोले भने, “हामीले भन्दै आएका छौ, गिरिजाप्रसाद कोइरालासँग भएका सहमति, अन्तरिम संविधानमा दिएको र अहिले खोसिएको अधिकार फिर्ता मागेका हौं ।”
उनले शान्तिपूर्ण आन्दोलनको माग पुरा गर्न सरकार र दलहरु तयार नभए देश दुर्घटनामा पर्नसक्ने बताए । महतोले भने, “दिल्लीमा पनि मैले यही संकेत दिएको छुु, शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गर्ने हो भने आन्दोलन हाम्रो हातबाट फुत्किन्छ ।”
सरकारले स्वायत्ततासहितको प्रदेश नदिए आन्दोलन अलग देश माग्नेहरुको हातमा पुग्ने बताए । “आन्दोलन हिंसात्मक हुन्छ र साम्प्रदायिकतातिर अघि बढ्छ”, महतोले भने ।
सरकारले वार्ताको नाममा नौटङ्की गरिरहेको भन्दै महतोले भने, “वार्तामा दलहरु गम्भीर देखिएन । बरु आन्दोलन लम्ब्याउनेगरी प्रस्तुत भइरहेको छ ।”
महतोले भारतले आन्दोलन रोक्न दबाव नदिएको बताए । उनले भने, “नेपाली जनताले दुख नपाओस् भन्ने भारतको सदिक्षाले नाका खुकुलो भएको हुनसक्छ । तर, हामी पूरै नाका ठप्प पार्ने तयारीमा छौं ।”
–सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
