थप समाचारमंगलबार, मंसिर २९, २०७२
केजरीवालले भने मोदी कायर र मनोरोगी
भारत, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कार्यालयमा सीबीआई (केन्द्रीय अनुसन्धान ब्यूरो) ले छापा मारेको छ ।
मुख्यमन्त्री केजरीवालले ट्विटमार्फत आफ्नो कार्यालयमा सीबीआईले छापा मारेको जानकारी दिंदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘कायर’ र ‘मनोरोगी’ भनेका छन् ।
सीबीआईले भने अरविन्द केजरीवालको कार्यालयमा नभई केजरीवालका मुख्यसचिव राजेन्द्रकुमारको कार्यालयमा छापा मारिएको दाबी गरेको छ । तर, केजरीवालले उक्त दाबीलाई झुटो भनेका छन् ।
केजरीवालले लेखेका छन, “मेरो कार्यालयमा सीबीआईले छापा मारेको छ । राजेन्द्रको बहानामा मुख्यमन्त्री कार्यालयका फाइलहरु खोतलिएका छन् । मोदीजीले भन्नुस् उहाँलाई कुन फाइल चाहिएको हो ।”
उनले प्रधानमन्त्री मोदीले राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न नसकेपछि यस्तो कायरतामा उत्रिएको आरोप लगाएका छन् ।
अहिले मुख्यमन्त्री कार्यालयमा रहेका अधिकारीहरुलाई आउन जान रोक लगाइएको छ ।
केजीरवालको पार्टी आपका प्रवक्ता सौरभ भारद्वाजले यसलाई घृणित कारवाही भनेका छन् । एक टेलिभिजनसँग कुरा गर्दै उनले भने, “मोदीमाथि हजारौंको हत्याको अरोप छ तर, उनको कार्यालयमा कहिल्यै छापा हानिएन ।”
केन्द्रीय मन्त्री वेंकैया नायडूले सीबीआई स्वतन्त्र एजेन्सी भएको र केन्द्र सरकारले सीबीआई निगरानी नगर्ने भन्दै मोदीको बचाउ गरेका छन् ।