समाचारमंगलबार, मंसिर २९, २०७२
कांग्रेस पदाधिकारी बैठक: दुवै विधेयक एकसाथ ल्याइयोस्
नेपाली कांग्रेस पदाधिकारी बैठकले व्यवस्थापिका–संसद्को बैठकमा पुनःनिर्माण र संविधान संशोधनसम्बन्धी दुवै विधेयकलाई सँगै संसदमा पेश गर्न सरकारसँग आज पुनः माग गरेको छ ।
काठमाडौँ उपत्यकामा उपलब्ध वरिष्ठ केन्द्रीय सदस्य समेत सहभागी कांग्रेस पदाधिकारी बैठकले ठकले दुवै विधेयकलाई एउटै कार्यसूचीमा ल्याउन सरकारसँग पुनः माग गरेको र पार्टी भूकम्प पुनःनिर्माणसम्बन्धी विधेयकको विरोधी नभएको स्पष्ट पारेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
संसद्को आज, २९ मंसीरमा बस्ने बैठकमा ती दुवै विधेयक एउटै कार्यसूचीमा आउने विश्वास व्यक्त गरेको छ ।
दुवै विधेयकलाई व्यवस्थापिका संसदमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा दलबीच सहमति जुट्न नसक्दा व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध हुँदै आएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले मध्यतराईमा जारी आन्दोलन तथा अन्य समुदायको मागलाई सम्बोधन गर्न आफ्नो नेतृत्वमा रहेको अघिल्लो सरकारको समयमा संविधान संशोधनसम्बन्धी प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराएको थियो ।
प्रवक्ता वडूले पार्टीले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयकलाई व्यवस्थापिका–संसद्मा पेस गर्ने विषयमा कहिल्यै अवरोध नगरेको तर यसका साथ तराईमा जारी आन्दोलनका मागलाई सम्बोधन गर्न संविधानको प्रस्ताव सदन समक्ष पुनः पेस गरिनुपर्छ भन्ने मात्र माग गरेको दाबी गरे ।
बैठकमा पार्टी सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतको सहभागिता थियो ।
बैठकले बुधबारदेखि शुरु हुने केन्द्रीय समितिको बैठकको कार्यसूची तथा आगामी फागुन २० देखि २३ सम्म हुने १३ औं महाधिवेशनका तयारीका विविध पक्षमा पनि छलफल गरेको थियो ।
रासस