समाचारमंगलबार, मंसिर २९, २०७२

गच्छदारले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराए

हिमालखबर

gachhadar_PMप्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले सरकार गठनका बेला आफ्नो दलसँग भएको आठबुँदे सहमति कार्यान्वयनका गर्न ध्यानाकर्षण गराएको छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटी सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार ध्यानाकर्षण पत्रमा राखिएको माग व्यापक राजनीतिक सहमतिका आधारमा र केही मन्त्रिपरिषद्को निणर्यबाट नै गर्न सकिने भएकाले दोस्रो प्रकृतिका विषय तत्काल सम्बोधन गर्न भनिएको छ ।

तराई मधेश थरुहट आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्न, मुद्दा चलाइएका व्यक्तिको मुद्दा फिर्ता गर्न तथा घर जलाइएका र सम्पत्ति लुटिएकालाई उचित क्षतिपूर्ति दिन ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।

सो अवसरमा अध्यक्ष गच्छदारले संविधानलाई पूर्ण समावेशी, समानुपातिक बनाउन तथा जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, सङ्घीयताको सीमाङ्कनलगायत विषय सम्बोधन गर्न सरकारले तत्काल पहल थाल्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकार गठनका बेला फोरम लोकतान्त्रिकसँग भएको आठबुँदे सहमति कार्यान्वयनमा आफू सकारात्मक भएको बताए । “संविधान अनुसार तपाईँहरुका जायज माग पूरा गर्न म सकारात्मक छु”– प्रधानमन्त्रीले भने ।

टोलीमा दलका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, उपाध्यक्ष गोविन्द चौधरी, जितेन्द्रनारायण देव र आशा चतुर्वेदी तथा सचिव रवीन्द्र ठाकुर सहभागी थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>