ब्लगमंगलबार, मंसिर २९, २०७२

भविष्यको ‘ब्लुप्रिन्ट’ (पुस्तक चर्चा)

रुबिना महतो

मानौं, नेपालीलाई दुःख दिन १२ वैशाखको महाभूकम्प पर्याप्त थिएन। त्यसकारण थपियो, मध्य तराईमा आन्दोलनरत मधेशी मोर्चाको समर्थनमा भारतीय नाकाबन्दी।

कुलचन्द्र गौतम

कुलचन्द्र गौतम

समाजको एउटा तप्काले आफ्ना माग पूरा गराउन पूरा देशको घाँटी अँठ्यायो। भारतले त्यसलाई जायज ठहर्‍यायो। त्यसैको परिणति, अहिले हामी इन्धन, औषधि र अरु अत्यावश्यक सामग्रीको अभाव व्यहोरिरहेका छौं।

समानताका लागि भन्दै थालिएको आन्दोलनलाई केही नेताले राजनीतिक शक्ति आर्जनको माध्यम बनाएका छन्। मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा ५० जना भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

आन्दोलन यति हिंस्रक बनाइएको छ कि पेट्रोल बम प्रहार, प्रहरी चौकीमा विस्फोट, एम्बुलेन्स र यात्रुवाहक बसमा आगजनी, पेट्रोल बोकेकै निहुँमा सर्वसाधारणलाई ज्यूँदै जलाइएका जस्ता घटना सामान्य लाग्न थालेका छन्। नाकाबन्दीबाट उत्पन्न मानवीय संकटले नेपाललाई आउँदा वर्षहरुमा समेत पीडा दिइरहनेछ।

यो अवस्थाको उठान कहाँबाट भयो वा समस्याको जरो कहाँ छ भनेर जान्न चाहिं संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको किताब लस्ट इन ट्रान्जिसनः रिविल्डिङ नेपाल फ्रम माओइस्ट मेहेम एण्ड द मेगा अर्थक्वेक पढ्नुपर्छ।

दमित उत्थानका लागि माओवादी युद्ध अपरिहार्य थियो भन्ने संकथनलाई भत्काउँदै गौतमले १० वर्ष लामो हिंसाले भर्खरै लोकतन्त्रको यात्रामा लागेको देशलाई दीर्घकालीन संक्रमणमा धकेलेको तर्क गरेका छन्।

माओवादीले सत्ता र शक्तिका लागि सीमान्तकृतका पीडालाई साधन बनाउँदै लोकतन्त्रको संस्थागत विकास र राज्य निर्माण प्रक्रिया अवरुद्ध पारेको उनको भनाइ छ। उत्पीडित मुक्तिका लागि भनिएको युद्धले यथार्थमा उत्पीडितलाई नै बढी पीडा दिएको लेखकको निष्कर्ष छ।

वास्तवमा, अहिलेको समस्या भनेकै माओवादी हिंसालाई विना आलोचना स्वीकार्ने प्रवृत्तिसँग सम्बन्धित छ। राजनीतिक लक्ष्य प्राप्तिका खातिर वैधानिक र लोकतान्त्रिक माध्यम लत्याएर खतरनाक नजिर स्थापना गरेको त्यो हिंसालाई चुनौती दिन असफल हुनु नै समस्याको जड हो।

माओवादीले निरंकुश राजतन्त्रको बन्धनबाट मुक्त हुन प्रयासरत लोकतन्त्र विरुद्ध युद्ध शुरु गर्‍योे र लोकतान्त्रिक संस्थाहरुको निर्माणमा व्यस्त हुनुपर्ने राज्यको समय उग्रवादविरुद्ध लड्नमै बित्यो।

गौतमको यो किताबमा लोकतन्त्र प्राप्तिपछि आन्तरिक र बाह्य शक्तिहरुसँग लगातारको द्वन्द्वले गर्दा नेपाली लोकतन्त्रले क्षमता विकास गर्न नसक्दा राज्य कमजोर बनेको यथार्थ चित्रण छ।

राज्यशक्ति कमजोर बन्दै जाँदा मुलुकको राजनीति र राज्यप्रणालीलाई अस्थिर बनाउने शक्तिहरुको स्तुतिगान शुरु भयो, उग्र विचार, बयानबाजी र राजनीतिक दुस्साहसले चुनौती थप्दै गए। सबै किसिमका संकीर्ण र अतिवादी विचारधारालाई लोकतान्त्रिक मूल्यमान्यताले विस्थापित गर्न सक्दा यो अस्तव्यस्तताबाट पार पाइने गौतम बताउँछन्।

लस्ट इन ट्रान्जिसनः रिविल्डिङ नेपाल फ्रम माओइस्ट मेहेम एण्ड द मेगा अर्थक्वेक लेखक कुलचन्द्र गौतम प्रकाशक नेपालय मूल्यः रु.६७५

लस्ट इन ट्रान्जिसनः
रिविल्डिङ नेपाल फ्रम माओइस्ट मेहेम एण्ड द मेगा अर्थक्वेक
लेखक कुलचन्द्र गौतम
प्रकाशक नेपालय
मूल्यः रु.६७५

गौतमले नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायले खेलेको भूमिकाको सशक्त चिरफार गरेका छन्। किताबले नेपालका उग्रवादी समूहलाई खुशी पार्न अन्तर्राष्ट्रिय समुदायले लोकतन्त्र, विधिको शासन र सर्वस्वीकार्य मानवअधिकारका सिद्धान्तहरुको द्विअर्थी बयानबाजी गरेको भन्दै प्रखर आलोचना गरेको छ।

माओवादीले विस्तृत शान्ति सम्झौताको लगातार उल्लंघन गर्दा पनि राष्ट्रसंघीय मिसन, अनमिनले जबर्जस्त सदासयता देखाउँदै गरेको गलत रिपोर्टिङ र अधिकांश जनताको समर्थन रहेका लोकतान्त्रिक दलहरुप्रति देखाएको अविश्वासबारे पुस्तकले सटिक व्याख्या गरेको छ।

अनमिन प्रमुखहरू इयान मार्टिन र करिन लेनग्रेनले नेपाली कांग्रेस र नेकपा एमालेलाई ‘सम्पूर्ण रुपले भ्रष्ट बाहुन नेतृत्वको यथास्थितिवादी’ दल र माओवादीलाई त्यस विपरीतको राजनीतिक शक्ति ठानेको प्रसंगमा गौतमले प्रजातान्त्रिक दलहरुलाई मन नपराएका राजा ज्ञानेन्द्र र महेन्द्रले निरंकुशता लादेको स्मरण गरेका छन्।

गौतमको पुस्तक नेपालको समकालीन इतिहासप्रति अभिरुचि भएका जो–कोहीले पढ्नैपर्ने कृति बनेको छ। नेपालका समस्याप्रति संवेदनशील, सूक्ष्म र विस्तृत बुझाइ राखेको किताबले विषयको भारीपनका बीच पनि मुलुकको स्थिरता र समृद्धिको रोडम्यापसहितको आशा जगाउँछ।

पुस्तकको उपसंहारमा ठूला र शत्रुतापूर्ण सम्बन्ध भएका छिमेकीसँग आफ्नो हित रक्षा गर्दै कसरी सम्झौता गर्नुपर्छ भन्दै भारतीय नाकाबन्दीको चर्चा गरिएको छ।

यो पुस्तकको प्रमुख विशेषता भने लोकतन्त्रको प्रतिरक्षा नै हो। लोकतन्त्रप्रति प्रतिबद्ध गौतम नेपालीको साझा पहिचानको कुरा गर्छन्, जसबाट भावी सन्ततिको समृद्धिलाई समेत पछ्याउन सकियोस्।

लस्ट इन ट्रान्जिसनः

रिविल्डिङ नेपाल फ्रम माओइस्ट मेहेम एण्ड द मेगा अर्थक्वेक

लेखक कुलचन्द्र गौतम

प्रकाशक नेपालय

मूल्यः रु.६७५

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>