समाचारमंगलबार, मंसिर २९, २०७२
संविधान संशोधन र पुनर्निर्माण सम्बन्धी विधेयक संसदमा पेश
व्यवस्थापिका संसदमा पुनर्निर्माण प्राधिकरण र संविधान संशोधन सम्बन्धी दुवै विधेयक पेश भएका छन् ।
मधेशी मोर्चाका सांसदहरुको विरोध र नाराबाजी बीच विधायन समितिका सभापति गंगा चौधरीले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण विधेयक सम्बन्धी विधायन समितिको प्रतिवेदन २०७२ पेश गरेका हुन् ।
पुनर्निर्माण सम्बन्धी विधेयकमात्रै संसदमा पेश हुन दिने भनेको मोर्चाले त्योसँगै संविधान संशोधन सम्बन्धी विधेयक पनि संसदमा पेश गरिएकाले विरोध जनाएको हो ।
कानूनमन्त्री अग्नी खरेलले नेपालको संविधानको पहिलो संशोधन २०७२ संसदमा पेश गरेका थिए ।
यसअघि पुननिर्माण र संविधान संशोधन सम्बन्धी दुवै विधेयक सँगै पेश हुनुपर्ने माग गर्दै संसद अवरुद्ध पारेको नेपाली कांग्रेसले दुवै विधेयक सँगै पेश भएपछि भने कुनै विरोध गरेन ।
सुशील कोइराला नेतृत्वको सरकारकै पालामा कांग्रेसले संविधानमा समानुपातिक, समावेशी प्रतिनिधित्वको व्यवस्था तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्ने संशोधन विधेयक दर्ता गराएको थियो । पुनर्निर्माण सँगै उक्त विधेयकलाई पनि अगाडि बढाउने सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि कानूनमन्त्रीले विधेयक संसदमा पेश गरेका हुन् ।
यसैगरी संसदमा महिला बालबालिका जेष्ठ नागरिक र समाजकल्याण समितिको वार्षिक प्रतिवेदन २०७२ सभापति रञ्जुकुमारी झाले पेश गरेकी छन् ।
आजको बैठकमा मधेशी मोर्चा, संघीय समावेशी गठबन्धन र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले विरोध र नारावाजी गरेका थिए ।
मजदुर किसान पार्टीले भारतीय नाकाबन्दीको विरोधमा संसदमा नारावाजी गर्दै आएको छ ।
दुवै विधेयक पेस भइसकेपछि सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसदको बैठक १ पुसमा बस्ने गरी स्थगित गरेकी छन् ।
कपिल भट्ट, काठमाडौं