रमझममंगलबार, मंसिर २९, २०७२

ठूलीमायाको नयाँ रेडियो

हिमालखबर

नयाँ रेडियो सुन्दै ठूलीमाया । तस्वीर: ओमआस्था राई

नयाँ रेडियो सुन्दै ठूलीमाया । तस्वीर: ओमआस्था राई

१२ वैशाखको भुइँचालोले ठूलीमाया तामाङको घर भत्कियो, गाईबस्तु पुरिए, र सँगै उनले पाएको अमूल्य उपहार रेडियो पनि पुरियो ।

भूकम्पले दिएको अरु पीडा त छँदै थियो तर, सबैभन्दा बढी पीडा रेडियो गुमाउनु भैदियो ठूलीमायाका लागि ।

हो, रेडियो । श्रीमान्‌ले काठमाडौंबाट ल्याइदिएको प्रिय उपहार ।

२०६० सालमा ठूलीमायाका श्रीमान ‘लेबर’ काम गर्न काठमाडौं गएका बेला १२ सय रुपैयाँ हालेर एउटा रेडियो ल्याएका थिए ।

कान्छा (श्रीमान्) ले रेडियो ल्याइदिएपछि ठूलीमायाको दिनचर्या फेरियो ।

उनी साँझ छिट्टै घरधन्दा सक्थिन् र रेडियोलाई सिरानी छेउ राखेर देशपरदेशका समाचार सुन्थिन् । दिउँसो मेलापात जाँदा पनि खोकिलामै हुन्थ्यो रेडियो । रेडियोमा गीत बज्दा उनको हात छिटो चल्थ्यो, मेलो झन् अघि सर्थ्यो ।

दन्त्यकथामा भीमकाय राक्षसको प्राण सुगामा कैद भए झैं ठूलीमायाको ज्यान कान्छाले दिएको रेडियोभित्र बसेको थियो ।

तर, १२ बैशाख मध्याह्नको त्यो दिन रसुवाको यार्सा गाउँमा धर्ती हल्लिँदा ठूलीमायाको  रेडियो पुरियो । “खनेर रेडियो त निकालें, तर रेडियो मरिसकेको थियोे आवाजै थिएन,” उनी भन्छिन, “साह्रै कुँडियोे मन ।”

thulimaya2भुइँचालोपछि टहराको बासमा रेडियो बजाउन नपाउँदा उनलाई हुनसम्म सकस भयो । टहरोमा रेडियो घन्काउन पाए घरजस्तै लाग्दो हो ।

“म साह्रै विरक्तिएँ,” ठूलीमायाले सुनाइन्, “भुइँचालोपछिको हल्लीखल्ली पनि मलाई सुनसान भयो, रेडियो नहुँदा ।”

ठूलीमायाका लागि रेडियोको विकल्प मोबाइल पनि हुनसक्थ्यो । तर, मोबाइल चार्ज गर्नका लागि बिजुली भएको ठाउँसम्म पुग्न एक दिन हिंड्नु पर्ने वाध्यताले गर्दा मोबाइलमा रेडियो बजाउनु सम्भव भएन । त्यसमाथि १२ वर्षअघि श्रीमान्ले ल्याइदिएको रेडियो जस्तो कहाँ हुनु मोबाइल !

अर्को रेडियो नकिनी भएन ठूलीमायालाई । सात महिनापछि सबै खर्च कटौती गर्दै बल्लतल्ल एक हजार रुपैयाँ जोगाउन सकिन् उनले । धुन्चे बजार पुगिन् र पटुकीमा घुसारेको एक हजार निकालेर बुझाइन् साहुलाई । दुई जोर व्याट्री सहितको रेडियो बोकेर फर्किइन् ।

“पहिलेको रेडियो त निकै दामी थियो, त्योबेलै १२ सय परेको ” उनले सुनाइन्, “यो त कहाँ त्यस्तो हुनु !”

२७ मंसीरमा उनी एक दिनको बाटो हिँडेर रसुवाकै भोर्लेस्थित लोकिल प्राविमा आइपुगेकी थिइन् ‘युरोपियन युनियन’ र ‘एक्ट अलाइन्स’ले भूकम्पपीडितहरूलाई ‘क्यास भौचर’ बाँड्ने कार्यक्रममा । साथमा थियो नयाँ रेडियो ।

यो भौचर पाउनेले रु. १२ हजार बराबरको न्यानो लुगा किन्न सक्थे । भोर्लेमा भेला भएका ११० भूकम्पपीडित परिवारले उक्त भौचर पाए ।

सबै लाइन लागेका बेला ठूलीमाया चाहिँ विद्यालय आँगनकोे एउटा कुनामा टुक्रुक्क बसेर नयाँ रेडियोको सुई घुमाउँदै थिइन् ।
“यसलाई एकछिन पनि छोड्न मन लाग्दैन,” उनले भनिन् ।
–ओमआस्था राई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>