थप समाचारमंगलबार, मंसिर २९, २०७२
मध्यतराईमा शितलहरले जनजीवन कष्टकर
पछिल्लो एक सातादेखि शितलहरका कारण मध्यतराइको बारा, पर्सा, रौतहट लगायतका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
डम्म लागेको हुस्सु र शितलहरले सवारी साधन चलाउन र जाडोले गर्दा मानिसलाई हिडडुल गर्न समेत समस्या भएको छ ।
अत्यधिक जाडोले गर्दा मानिसहरु घरबाहिर निक्लन सकिरहेका छैनन् । ठाउँठाउँमा सामूहिक रुपमा आगो ताप्न थालिएको छ ।
जाडोले कठ्यांग्रिएर बारामा एक महिलाको २९ मंसीरमा मृत्यु समेत भएको छ । जिल्लाको गढीमाई–१० नितनपुरटोलकी ९० वर्षीया गुलियादेवी पासवानको मृत्यु भएको हो ।
चिसोबाट बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएको स्वास्थ्यकर्मी चन्देश्वरप्रसाद साहले बताए ।
हुस्सुले गर्दा सडक नदेखिने भएपछि ट्राफिक प्रहरीले गाडीको बत्ती बालेर मात्रै चलाउन आग्रह गरेको छ ।
चिसोका कारण विद्यालयको पढाई पनि प्रभावित भएको छ । विद्यालय खुले पनि विद्यार्थीहरुको उपस्थिति निकै कम देखिन्छ ।
शितलहरकै कारण सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको उपस्थिति पनि पातलिएको छ ।
हुस्सुका कारण ‘भिजिविलिटी’ कम भएपछि विमानका उडानहरु पनि रद्द हुन थालेका छन् ।
गतवर्ष जाडोका बेला विपन्न वर्गका परिवारलाई विभिन्न संघसंस्थाले कम्बल र न्यानो लुगा वितरण गरेको भए पनि यसपाली कसैले त्यस्तो काम गरेको छैन ।
श्याम गुप्ता, बारा