थप समाचारमंगलबार, मंसिर २९, २०७२
चोरीका सामानसहित नरप्रसाद फेरि पक्राउ
कोहलपुरका विभिन्न घरहरुबाट गरहनादेखि बेलना–चौका समेत चोरी गरेको अरोपमा हुम्लाका नरप्रसाद जैसीलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि उनी भारतको कुल्लीमनालीको एकमन्दिरबाट प्राचिन मूर्ति चोरेको आरोपमा पक्राउ परेका थिए ।

नरप्रसाद जैसी सबैभन्दा बायाँ । तस्वीर: केशव राना
दशै–तिहारका बेला कोहलपुरका ६ वटा घरहरुमा चोरी गरेको आरोपमा जैसीसहित हुम्ला लौठीकै २४ वर्षीय कृष्णप्रसाद जैसी र १९ वर्षीय राजेन्द्र सन्ज्याल पनि पक्राउ परेका छन् ।
उनीहरुबाट गर–गहना, ल्यापटप, टिभी, प्रेसरकुकर, लुगा, बेलना–चौका लगायतका सामान बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीवबहादुर बस्नेतले जानकारी दिए ।
उक्त सामानको मूल्य अन्दाजी ११ लाख ७१ हजार रहेको प्रहरीले जनाएको छ ।
हुम्ला घर भए पनि उनी कैलीको लम्की, जाजरकोटको जगतिपुर, रुकुमको खोलागाउँ र काठमाडौंमा समेत डेरा लिएर बस्ने गरेको खुलेको छ । अहिले भने उनी कोहलपुरस्थित बागेश्वरी स्कुल नजिकै डेरा गरी बसेका थिए ।
एक वर्षअघि उनी भारतको हिमाञ्चल प्रदेशको कुल्लुमनालीस्थित रघुनाथजीको मन्दिरबाट रघुनाथजीको प्राचिन मूर्ति चोरेको आरोपमा पक्राउ परेका थिए ।
८ अर्ब बराबर बजार मूल्य रहेको भनिएको उक्त मूर्ति जैसीले नै चोरेको हुनसक्ने भन्दै भारतीय प्रहरीको आग्रहमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका जैसीलाई नेपालको कानून अनुसार भारतीय प्रहरीलाई बुझाउन नमिलेपछि उनी छुटेका थिए । यद्यपी उनले उक्त मूर्ति कुल्लुमनालीमै माटो मुनी गाडेको बयान दिएपछि सोही अनुसार खोज्दा भारतीय प्रहरीले मूर्ति फेला पारेको थियो ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
