समाचारबुधबार, पौष १, २०७२
अध्यक्ष ठाकुरद्वारा एकमुष्ट सहमति खोज्न आग्रह
तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधनसम्वन्धी प्रस्तावले आन्दोलनका मागलाई सम्बोधन नगर्ने भन्दै एकमुष्टरुपमा सहमति खोज्न सरकारसँग आग्रह गरेका छन् ।
तमलोपाद्वारा १ पुषमा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता ठाकुरले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोधका बाबजुद पनि सरकारले २९ मंसीरको संसद् बैठकमा विधेयक पेस गरेकोमा आपत्ति जनाए ।
उनले मधेशी जनताको माग र भावना विपरित सरकारले उक्त विधेयक संसद्मा पेस गरेर मोर्चासँग वार्ता र संवादको वातावरण बिगार्ने काममा लागेको आरोप लगाउँदै विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म वार्ता सफल नहुने बताए ।
उनले भने, “मधेशलाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहन्छ ।”
अध्यक्ष ठाकुरले आफूहरुको माग सम्बोधन नभएसम्म सडक र सदन दुबैतर्फबाट सशक्त विरोध जनाउने बताउँदै समानुपातिक र समावेशी सिद्धान्तलाई व्यवहारिक कार्यान्वयन, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र प्रदेशको सिमाङ्कनलगायतका विषयमा सरकारले स्पष्ट धारणा नल्याएसम्म वार्ता सफल हुन नसक्ने बताएका थिए ।
उनले विगतभन्दा अझ बढी सशक्त र प्रभावकारीरुपमा आन्दोलन अगाडि बढाइने पनि दाबी गरे । रासस