समाचारबुधबार, पौष १, २०७२

जनकपुरको अवस्था सामान्य, विवाहमहोत्सव जारी

हिमालखबर

विवाहपञ्चमी महोत्सवमा सरिक जानकी मन्दिर पुगेकी राष्ट्रपति विद्या भण्डारीको विरोध गर्दै मधेशी मोर्चाले नाराबाजी र ढुंगा प्रहार गरेपछि तनावग्रस्त बनेको जनकपुरको अवस्था अहिले सामान्य बनेको छ ।

तस्वीर: ईश्वरचन्द्र झा

तस्वीर: ईश्वरचन्द्र झा

सुरक्षाकर्मीले जानकी मन्दिर परिसर छोडेपछि मधेशी मोर्चा र प्रहरीबीचको झडप साम्य भएको छ भने स्थानीय यूवा क्लबले भीडलाई शान्त बनाउँदै आफ्नै अगुवाईमा डोला निकालिरहेको छ ।

युवाहरुको अगुवाईमा राममन्दिरबाट श्रीरामको र जानकी मन्दिरबाट किशोरीजीको डोला रंगभूमी मैदानका लागि प्रस्थान गरेको छ ।

दिउँसो भएको झडपको घटनाले विवाहमहोत्सवमा सहभागी हुन आएका केही श्रद्धालुहरु फर्किए पनि अहिले स्थानीय र भारतबाट आएका तिर्थयात्रीहरु समेत महोत्सवमा सहभागी भएका छन् ।

मधेशी मोर्चाको ढुंगामुढा, मन्डप जलाइयो
आज, १ पुष विहान राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा करिब १० मिनेट पूजा–अर्चना गरी फर्केकी थिइन् ।

तस्वीर: रासस

तस्वीर: रासस

काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा प्रधान सेनापति राजेन्द्र क्षेत्री, भूमिसुधार मन्त्री रामकुमार सुब्बा, सांसद किरण यादवसहित जनकपुर पुगेकी भण्डारीले महोत्सवका सहभागीलाई केही बेर सम्बोधन समेत गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी विवाहमहोत्सवमा सहभागी हुने कार्यक्रम तय भएदेखि मधेशी मोर्चाले राष्ट्रपतिलाई जनकपुरमा निषेध गर्ने भन्दै २९ पुस साँझ समेत विरोधको कार्यक्रम गरेको थियो ।

राष्ट्रपति मन्दिरबाट बाहिरिंदै गर्दा प्रदर्शन र नाराबाजी गरिरहेका मोर्चाका कार्यकर्ताले उनलाई लक्षित गर्दै ढुंगा प्रहार गरेका थिए । राष्ट्रपति भण्डारी मन्दिरमा प्रवेश गरिरहँदा र निस्केपछि कालो झण्डाको सामना गर्नुपरेको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा राष्ट्रपति भण्डारी गाडीमा चढेर बाहिरिएपछि सुरक्षाकर्मीले जानकी मन्दिर सर्वसधारणका लागि खुला गरेको थियो ।

तर राष्ट्रपति फर्कीसकेपछि पनि स्थिति सामान्य हुन सकेन । मोर्चाका कार्यकर्ताले मन्दिर परिसरमै सुरक्षाकर्मीमाथि ढुंगामुढा शुरु गरे ।

राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै मन्दिर प्रवेश गरेका आन्दोलनकारी र सर्वसधारणलाई प्रहरीले लाठी चार्ज गर्दै मन्दिर परिसर बाहिर लखेटेपछि पनि लगातार चार घण्टासम्म प्रहरी र प्रदर्शनकारीबीच झड्प भइरह्यो ।

त्यसक्रममा मन्दिर परिसरभित्र आश्रय लिएका करिब १० तिर्थयात्री र ६ जना प्रदर्शनकारी घाईते भएको जनकपुर अञ्चल अस्पतालले जनाएको छ । घाइतेहरुको जनकपुर अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै प्रदर्शनकारीको ढुंगा प्रहारबाट करिब १२ जना सुरक्षाकर्मी घाईते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रदर्शनकारीले मन्दिर परिसरभित्र प्रवचनका लागि तयार गरिएको मञ्चको पण्डालमा पेट्रोल बम प्रहार गरी आगो लगाएका छन् ।
रातिको कार्यक्रम लागि तयार गरिएको मड्वाको अवशेष मात्रै बाँकी छ ।

त्रेता युगमा अयोध्याका राम र जनकपुरकी सीताको आजकै दिन विवाह भएको सम्झनामा प्रत्येवर्ष जनकपुरमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

यसअवसरमा अयोध्याबाट साधुसन्तहरु रामको जन्ती लिएर जनकपुर आउने र राम र सीताको विवाह गराउने प्रचलन छ ।
ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>