समाचारबिहीबार, पौष २, २०७२

एक हप्ताभित्र पुनःनिर्माण प्राधिकरण गठन हुन्छ: मन्त्री पाण्डे

हिमालखबर

pandeyउद्योगमन्त्री सोमप्रसाद पाण्डेले पुनःनिर्माण प्राधिकरण एक हप्ताभित्र गठन भई प्रमुख कार्यकारी अधिकृत समेत नियुक्त हुने बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको विषयमा गृहकार्य शुरु भईसकेको भन्दै ढिलोमा एक साताभित्र नियुक्त भईसक्ने दाबी गरे ।

उनले भने, “प्राधिकरण अध्यादेश ६० दिनभित्र संसदमा पेश नभएको र विधायन समितिमा नेपाली कांग्रेसले झमेला गरेको कारण विधेयक पेश गर्न ढिला भएको हो । कार्यकारी निर्देशक को नियुक्त गर्ने भन्ने विषयले अड्काएको हो । अहिले विधेयक पास भएको छ । अब तत्काल काम शुरु हुन्छ ।”

उनले भूकम्प पीडितहरुलाई तत्कालै तीन किस्तामा दुई लाख र त्यसपछि सामूहिक जमानीमा तीन लाख ऋण दिने गरी कार्यविधी तयार भईसकेको पनि जानकारी दिए ।

जिल्लामा एलडीओ अध्यक्ष र राजनीतिक दलका प्रतिनिधिहरु रहेको जिल्ला कार्यान्वयन ईकाईले त्यसको आवश्यक ब्यवस्था मिलाउने मन्त्री पाण्डेको भनाई छ ।

तराईमा जारी आन्दोलनका कारण दैनिक दुई अर्बको हिसावले अहिलेसम्म उद्योग क्षेत्रमा अढाई खर्व रुपैया नोक्सानी भएको जानकारी दिदै मन्त्री पाण्डेले अहिले सरकारले आन्दोलनबाट पीडित उद्योगलाई पुन सुचारु गर्न राहत कार्यक्रम ल्याईरहेको बताए ।

उनले भने, “ट्रेनबाट सुख्खा बन्दरगाहमा आएका सामानलाई सुरक्षित रुपमा उद्योगसम्म पुर्‌याउने व्यवस्था गरेका छौं । उद्योगीहरुको ऋणको ब्याज कम गर्ने, बैंकलाई किस्ता बुझाउने समय बढाउने र कर बुझाउने समयसीमा पनि बढाउने प्रक्रिया अगाडि बढाईसकेका छौ । हामी औद्योगिक क्षेत्रलाई माथि उठाउने योजनामा छौ ।”

मन्त्री पाण्डेले नाकाबन्दी खोल्न सरकारले कुटनीतिक, आर्थिक सहित सबै च्यानल प्रयोग गरिरहेको र भारतबाट सकारात्मक धारणा आउने थालेकोले छिट्टै नाकाबन्दी खुल्ने विश्वास ब्यक्त गरे ।

सिईओमा दाबी छैन: कांग्रेस
साक्षात्कारमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भूकम्प पुन:निर्माण प्राधिकरण गठन र कार्यकारी निर्देशकमा आफ्नो पार्टीको कुनै दावी नहुने स्पष्ट पार्दै पार्टीको कार्यकर्ता नभई स्वच्छ र निष्पक्ष व्यक्ति नियुक्त गर्नुपर्नेमा जोड दिए ।

उनले एमालेको गतल नियतको कारण प्राधिकरण विधेयक पारित हुन ढलाई भएको भन्दै कांग्रेसको कारण ढिलाई भयो भनेर प्रचार गरिनु आपत्तिजनक रहेको टिप्पणी गरे ।

श्रेष्ठले शुक्रवारको संसदबैठकबाटै संविधान संसोधन विधेयकमाथि छलफल प्रारम्भ हुने जानकारी दिदै मधेश केन्द्रित दलहरु पनि छलफलमा सहभागी भए संसदीय समिति बनाएर त्यसमा उनीहरुको भावना अनुसार संसोधन प्रक्रिया अगाडि बढाउन तयार रहेको सुनाए ।

गोविन्द पोख्रेल नै आए पनि आपत्ति छैन: एमाओवादी

एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले विगतमा एमाले र कांग्रेस नमिल्दा भूकम्प पीडितलाई दुख दिने काम भएको आरोप लगाउँदै कार्यकारी निर्देशकदेखि कुनै पनि नियुक्तिमा एमाओवादीले झमेला नगर्ने स्पष्ट पारे ।

उनले भने, “पुन:निर्माणमा भूमिका निर्वाह गर्ने सक्ने व्यक्ति जहाँबाट आए पनि हुन्छ । पार्टीको कार्यकर्ता नहोस, सक्षम ब्यक्ति आओस । डा.गोविन्द पोख्रेल नै आएपनि हामीलाई कुनै आपत्ति छैन ।”

शर्माले संविधान संसोधन विधेयक सहमतिमै आएको भन्दै यही कुरा पहिला भएको भए मधेश केन्द्रित दलहरु आन्दोलनमा जाने अवस्था हुँदैनथ्यो भने । “मधेश केन्द्रित दलहरुको सहमतिमा गरेको भए विरोध हुँदैन थियो । ठूला दलले बुद्धि नपुर्यानउँद यो अवस्था आएको हो । अब मुलुकलाई निकास दिने नदिने विषय काग्रेसको हातमा छ ।”

शर्माले नेपाली कांग्रेसको आसन्न महाधिवेशनको कारण केही कुरा अड्काउने काम भईरहेको पनि आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>