समाचारबिहीबार, पौष २, २०७२
विदेशमा ४ वर्षे बीडीएस अध्ययन गर्न जान रोक
मेडिकल काउन्सिलले साढे चार वर्ष भन्दा कम समयको बीडीएस (डेन्टल) अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई रोक लगाउने भएको छ ।
काउन्सिलले सन् २०१३ को नियमावली अनुसार साढे चार वर्ष भन्दा कम समयको बीडीएस कोर्स अध्ययन गर्न विदेश जानमा रोक लगाएको हो ।
काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले इन्टर्नशीपसहित साढे पाँच वर्षे कोर्ष अध्ययनका लागि मात्र विदेश जाने विद्यार्थी अनुमति दिने बताए । अधिकारीका अनुसार काउन्सिलको उक्त नियम आगामी फेब्रुअरी महिनादेखि लागू गर्दैछ । उनले भने, “३० जनवरीसम्म साढे चार वर्षभन्दा कम समयको बीडीएस तह अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई अनुमति दिइन्छ ।”
काउन्सिलले हालसम्म एक वर्षे इन्टर्नशीपसहित साढे पाँच वर्षे एमबीबीएस तह अध्ययन गर्न विदेश जाने विद्यार्थीलाई अनुमति दिइदै आएकोमा बीडीएस तहलाई पनि सोही सरह मान्यता दिने तयारी भएको हो ।
अघिल्लो वर्षसम्म काउन्सिलबाट अनुमति लिएर एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या १७०० थियो । काउन्सिलको उक्त नियम लागू भएपछि बीडीएस अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्यामा कमी आउने अनुमान गरिएको छ ।
–रामु सापकोटा