समाचारशुक्रबार, पौष ३, २०७२

तथ्याङ्क विभागले भूकम्पपीडितको विवरण संकलन गर्ने

हिमालखबर

केन्द्रीय तथ्याङ्क विभागले आगामी माघको पहिलो सातादेखि भूकम्पपीडितको यथार्थ तथ्याङ्क सङ्कलन गरेर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई उपलब्ध गराउने भएको छ ।

पहिलो चरणमा दोलखा जिल्लाबाट तथ्याङ्क सङ्कलन गर्ने र त्यसलाई प्रशोधन गरेर सरकारलाई वास्तविक भूकम्पपीडितको विवरण पठाउन शुरु गर्ने तयारी विभागले गरेको हो ।

विभागले पठाएको तथ्याङ्कका आधारमा भूकम्पपीडितले राहत तथा पुनःनिर्माणका लागि आवश्यक सहयोग पाउनेछन् ।

उच्च प्रविधि प्रयोग गरेर सङ्कलन स्थलबाटै पीडितका सम्पूर्ण विवरण विभागमा पठाउने र त्यसलाई प्रशोधन गरी निरन्तररुपमा स्थानीय विकास मन्त्रालयलाई उपलब्ध गराउने तयारी गरिएको विभागका उप–महानिर्देशक डा रुद्र सुवालले जानकारी दिए ।

प्रत्येक दिन सङ्कलन भएको तथ्याङ्क प्रशोधनमा गरेर त्यसलाई जिम्मेवार निकायमा पठाउने प्रक्रिया अपनाइएकाले क्रमिकरुपमा काम अगाडि बढ्ने र त्यसले गति लिने विश्वास विभागले लिएको छ ।

भूकम्पपीडितलाई राहत उपलब्ध गराउने कार्य ढिलो भएकाले एकमुष्ट तथ्याङ्क सरकारलाई उपलब्ध गराउने भन्दा पनि निरन्तररुपमा सङ्कलन तथा प्रशोधन गरेर तथ्याङ्क हस्तान्तरण गर्न लागिएको उनले जानकारी दिए ।

दोलखालाई पहिलो चरणमा राखिएपनि दोस्रो चरणमा पाँचदेखि सात जिल्लाको तथ्याङ्क सङ्कलन गरी सरकारलाई उपलब्ध गराउने योजना बनाइएको उप–महानिर्देशक डा सुवालले बताए ।

अनुसन्धानका क्रममा लिइने तथ्याङ्क निष्पक्ष हुने दावी गर्दै उनले भने, “तथ्याङ्क सङ्कलनका लागि प्राविधिज्ञलाई फिल्डमा पठाउँछौँ । ती प्राविधिज्ञले जनस्तरमा गएर तथ्याङ्क सङ्कलन गर्नेछन् ।”

विभागले पठाएको इन्जिनियरको साथमा एक जना स्थानीय बासिन्दा हुने र उनीहरु प्रत्येक घरमा गएर तथ्याङ्क सङ्कलन गर्ने भएकाले त्यसमा कसैले पनि प्रश्न उठाउने अवस्था नरहने विभागको दावी छ ।
हरि लामिछाने, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>