टिप्पणीशनिबार, पौष ४, २०७२
कौलिक मत निषेध (इतिहास)
चन्द्रशमशेरको पालामा आर्यसमाजीहरूले जेल बस्नुपरेको थियो भने घण्टेहरूले कोर्रा र देश निकालाको सजाय पाएका थिए।
नेपालमा प्राचीनकालदेखि पुजिंदै मानिंदै आएका महादेव–महादेवीका बौद्ध देव–देवताका मन्दिर, मूर्ति, चैत्य, स्तूप, बिहार आदि प्रशस्तै थिए, अद्यापि छँदैछन्।
बुद्ध धर्ममा शुरूमा स्थविरयान र महायान दुई सम्प्रदाय प्रचलित भए पनि पछि अनेक सिद्धहरू पैदा भएर महायानलाई अनेक तान्त्रिक सम्प्रदायमा ढाले।
बुद्ध मूर्तिपूजाका विरोधी थिए, तर सनातन धर्मको प्रभावमा परी महायान सम्प्रदायीले अवलोकितेश्वर तारादेवी आदिको अवतारवाद अंगीकार गरी मूर्तिपूजा गर्ने भए।
महायान सम्प्रदायबाट अर्को तान्त्रिक सम्प्रदाय मन्त्रयान, बज्रयान पैदा भए। त्यसैबाट पञ्चमकारसेवी सहजयान आयो। वाममार्गी सिद्धयोगी पद्मसम्भवले नेपाल–भोटमा यस्तो सम्प्रदाय प्रचलित गराएको मानिन्छ।
महायानबाट बज्रयान, सहजयान तान्त्रिक पन्थ पैदा भए जसरी नै शैव सम्प्रदायमा पाशुपत कापालिक आदि पन्थ पैदा भए।
वैष्णवमा पनि त्यस्तै अनेक वामपन्थ पैदा भए। नेपालमा सातौं शताब्दीमा पाशुपत धर्मका अनेक वामसम्प्रदाय चलेका थिए।
अंशुवर्माको एक अभिलेखमा महादेवको आलो मुण्डमाला लाएको, आलै गजचर्म ओढेको एक अघोरी वामपन्थी स्वरुपको वर्णन छ।
त्यस्तै, पंशपाशुपत मुण्डश्रृखलिक तथा उर्ध्वलिङ्ग उन्मत्तभैरव स्वरुपका चण्डेश्वर आदिको मूर्ति अहिले पनि देख्न सकिन्छ। साक्त सम्प्रदायमा आनन्दभैरवीको आराधना गरिन्छ।
यी सबैखाले वाममार्गमा अश्लील आचार पञ्चमकारको उपयोग, मत्स्य, मांस, मदिरा सेवन र मैथुन गर्दै सिद्धि–मुक्ति पाइन्छ भन्ने मत छ। यम, दम, नियम, तप गरेर, शरीर सुकाएर सच्चिदानन्द मुक्ति हुँदैन, भुक्ति–भोगबाटै सिद्धि–मुक्ति प्राप्त हुन्छ भन्ने एउटा उक्ति–
तरुणीं सुन्दरीं रम्यां चञ्चलां कामगर्विताम्
समानीय प्रयत्नेन तस्या योनिं विकासयेत्
तस्या योनौं मुखं दत्वा तद्रसं विलिहन् जपेत्
(कामवासनाले भरिएकी मस्त तरुनीको योनीमा मुख लगाएर रस चुस्तै जप गर्नू।)
यस्तो अश्लील अघोर कर्म कौलिक वामाचारमा वर्णित छ। मध्यकालमा यस्तो वामाचारका तान्त्रिक विधि–अनुष्ठान प्रचलित थिए, जुन पछिसम्मै चलेको देखिन्छ।
महाराज चन्द्रशमशेरले मूर्तिपूजा विरोधी अभियानमा लागेका आर्य समाजीलाई जस्तै घण्टे भनिने कौल मतका वामाचारीलाई पनि निषेध गरेका थिए।
आर्य समाजको प्रचारमा प्रतिबन्ध लागेको चर्चा हिमाल को गतांकमा गरियो। कौलिक मत–वामाचार निषेधको प्रसङ्ग यहाँ परेको छ। उजुरी नै परेको हुनाले यो प्रसङ्ग बढी चर्चामा थियो।
कौलिकतन्त्रमा वामाचारको प्रयोगविधि बताइएको छ। तरुनी स्त्रीको योनीमा मुख राखेर जप गर्ने, मांस–मदिरा खाने आदि कुरा यसमा छ।
नेपालमा यो मत प्रचार गर्नेमा चन्द्रशमशेरका ज्वाईं जयपृथ्वीबहादुरका कान्छा भाइ कप्तान वीर र अरू पाँच–सात जना अर्जेल बाहुनहरू पनि लागेका रहेछन्।
तरुनीहरूसँग पशुपतिको जंगलमा गएर सम्भोग अवस्थामा जपपाठ गर्ने, मुण्डमाला लाउने, खप्परमा मदिरा मन्त्रेर प्रसादी भनेर पिउने उनीहरू ‘घण्टे’ कहलाएका थिए।
यसमा उजुरी परेपछि उनीहरूलाई पक्रेर वयान लिइयो र गुरुलाई यस मतबारे निरुपण गरेर जाहेर गर्न भनियो।
गुरुले ‘यो मत त पुरानै हो, कौलिकतन्त्रमा लेखिएको छ, तर वेश्याहरू र अर्काका स्वास्नीहरूलाई ल्याएर जथाभावी गर्ने, खप्परमा मदिरा मन्त्रेर प्रसादी भनेर खाने कुरा हाम्रो व्यवहारमा मिल्ने होइन, यसमा लाग्नेहरूले तटस्थ भएर बस्नुपर्छ, सबैलाई बोर्नु (मुछ्नु) हुँदैन’ भन्ने राय दिएपछि चन्द्रशमशेरले ती कप्तानलाई अबउप्रान्त यस्तो गर्यौ भने देशनिकाला हुनेछौ भनेर कोर्रा लाएर छाडिदिए। अरू घण्टेहरूलाई जातपतित गरी निकालिदिनू भन्ने आदेश दिए।
कप्तानले बयानमा डिल्लीशमशेर, उनका भाइ, कप्तान प्रेमशमशेर थापा, बडागुरु द्विजराज, चौतरिया चित्रध्वज शाहहरू पनि यस मतमा छन्, उनीहरूसँग मुण्डमाला नरकङ्काल छ भनेर पोलेका थिए, तर तिनीहरूमाथि कारबाही चलेको बुझिएन।
**१२ सेप्टेम्बर १९०९ (भाद्र २८ गते) आदित्यवार **
आज व्यहान श्रीजनरल ववरसंसेरले १२ बजे सिंहदरर्वारमा आउनु भनि बोलाउन पठाई बक्सेको हुनाले गञेको थिञे. क. डिल्लीसंसेर, काशीनाथ आ.दी.पनि गयाका रहेछन्.
म पुग्नेवित्तिकै जनरलसाहेव पनि सवारी भयो र माथि ठूलो बैठकको आफीस बैठकमा हामी सबैलाई लगि राजा जयपृथ्वीबहादुरका कान्छा भाई कप्तान् वीरले हाल नञा मत चलायका रहेछन्, त्यो मत कस्तो हो सबै कुरा बुझनुहोस् भन्ने मर्जि भयाको हुनाले र नीज कप्तान र ठानाका सुब्वाले गरायाको अरुहरूको कागज पनि ल्यायाका हुनाले सबै सुन्ने कां गर्यौं.
नीजले र घंटे भनिएका अर्ज्यालहरू ६।७ जनाले पनि यो मत लिई पशुपतिको जंगल गई कोही स्वास्नीमानिसलाइ खोजी ल्याई तेस्लाई कहिले माथी चढाई कहिले मनि राखी जप गर्दा रहेछन्.
मुर्धाको श्रीपात्रमा मद्यहरू पनि राखी कालिकाको जपपाठादि गर्दा रहेछन्. तेसैलाई बाल पनि भन्दा रहेछन्. यस्तो गर्दछन् भन्ने कुराको उजुरी परेको हुनाले बुझनु भन्ने भै बुझियाको रहेछ.
सबै कुरा बुझी सकी ‘यो मत हालको नञा मत होइन, कौलिक भन्ने तन्त्रशास्त्रमा लेखियाको पुरानो मत हो. प्रयोगको कागज पनि देखाउन ल्याउनुभयाको थियो.
त्यो साधारण हुनाले यल्लाई गर्न केही संदेह छैन जल्ले पनि गर्दछ, तर वेश्याहरूलाई ल्याई योनिमा मुख हाली जपनु, अरुका स्वास्नीलाई ल्याई जथाभावी गर्नु, खप्पर श्रीपात्रको प्रसादी खानु यो कुरा भने यो हाम्रो व्यवहारमा रही जात रहने होइन, तेसो गर्न मन्सुवा छ भने तटस्थ हुनु गर्नु, सबैलाई बोरनु केही काम छैन भन्ने छाट्को विन्ति चढाञे, पछिबाट श्री ३ बाट पनि बोलाई बक्सी सबै कुरा सोधी बक्सियो.
नीज कप्तान्लाई बोलाई रिसाई बक्सियो. अवउप्रान्त यस्तो काम गर्यौ भने ञाहा बस्न पाउनेछैनौ, अैले चीफले घरमा लगी कोर्रा हानी छोडी दिनु, ति घण्टेहरूलाई मदिराहरू खायेका रहेछन् भने जातबाट भ्रष्ट गरी निकाली दिनु भन्ने हुकुम भयो.
डिल्लीसंसेरका भाईले पनि यस्तै मत लियेका छन् भन्ने कुरा उठ्दा हेर है समाल भन्ने कुरा डिल्लीसंसेरलाई हुकुम भयो. नीज कप्तान्ले बडागुरुज्यू द्विजराज, क. प्रेमसंसेर थापाहरूले पनि नरमाला लगेका छन् भन्ने कुरा सुनेथे.
डिल्लीसंसेर पनि यस्मत्मा छन् भन्ने सुनेथे. चित्रध्वज साह चौतरियाकाहा पनि नरदेहको हड्डी पुरानो सबै छ भन्ने कुरा उठान् गरे. पछिबाट त्यो कुरा तेसै रह्यो. चीफलाई तिमिले ई कप्तान्लाई कोर्रा हानी छोडी देउ, घण्टेहरूलाई निकाला गरिदेऊ भन्ने हुकुम भयो.
(पं. हेमराज शर्माको डायरीबाट)