थप समाचारशनिबार, पौष ४, २०७२
बन्दकर्ताको ढुंगा ‘उपहार’
२१ मंसीर साँझ धरानबाट विराटनगर आउँदै गरेको को१ख ४२९३ नम्बरको बसमा मोरङको हात्तीमुढास्थित नेमुवामा मधेशी मोर्चाका आन्दोलनकारीले ढुंगा बर्साए। ढुगाले फुटेको बस अगाडिको सिसाको टुक्रा चालक उमेश थापाको आँखाभित्र पस्यो। हातमा पनि चोट लाग्यो।

प्लाई, जाली, प्लास्टिक, सिल्भर प्लेट लगाइएका बस।
११ मंसीरमा सप्तरीको भारदहमा आन्दोलनकारीको आक्रमणबाट जोगिन तीव्र गतिमा गुडेको ना ५ ख १६६४ नम्बरको बस पल्टिंदा तीन जनाको ज्यान जानुका साथै २६ यात्री घाइते भए।
विराटनगरबाट लामोदूरीमा चल्ने कुनै पनि बस सद्दे भेटिंदैनन्। सबै बसले आन्दोलनकारीबाट तोडफोड ‘उपहार’ पाएका छन्।
विराटनगर–चितवन चल्ने शुभलक्ष्मी डिलक्सका चालक श्याम थापा भन्छन्, “जाली लगाउँदा पनि गुलेलीले सिसा फुटाइदिए।” उनी बन्दकर्ताबाट बँच्न हेलमेट लगाउँछन्।
सिसा फुटेपछि बसलाई प्लाई, प्लास्टिक र धातुका पाताले छोपेर चालकले मात्रै देख्ने ठाउँ छाडिएको छ। चालक र यात्रु सबैलाई सुरक्षा दिन कतिपय बसले सबै भागमा जाली लगाउन थालेका छन्। यतिवेला बस चलाउनु युद्धमा जानु जस्तै भएको यातायात व्यवसायी राजु धमला बताउँछन्।
डिजल अभावका कारण विराटनगर–काठमाडौ रुटमा चल्ने ८० वटा बस अहिले ४० मा झारिएको छ। मोरङ प्रशासनले दैनिक दुई हजार लीटर मात्र डिजल दिने भएकाले सबै बस कालोबजारमा भर पर्न बाध्य छन्।
मिसावटयुक्त डिजलका कारण गाडीका इन्जिन र पम्प बिग्रिएका छन्। पूर्व नेपाल यातायात व्यवसायी संघका अध्यक्ष राजन कँडेल बीमा कम्पनीले पनि ‘बन्द अवज्ञा गरेको’ भन्दै क्षतिपूर्ति दिन आनाकानी गरेको बताउँछन्।
शब्द/तस्वीरः कमल रिमाल, विराटनगर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
