समाचारशनिबार, पौष ४, २०७२

कांग्रेस र मधेशी मोर्चाबीच छलफल

हिमालखबर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच मध्यतराईमा जारी आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित भएर छलफल भएको छ ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा आज, ४ पुस बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक सङ्कट यथाशक्य छिटो टुङ्ग्याएर अगाडि बढ्ने सहमति भएको छ ।

सो अवसरमा नेपाली कांग्रेसले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकबाट आन्दोलनका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने सन्दर्भमा आधार तयार गर्ने भएकाले त्यसमा सहयोग गर्न मोर्चालाई आग्रह गरेको थियो ।

संशोधन विधेयकमा राज्यका प्रमुख अंगहरुमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्ने र हालको जिल्लाको इकाइलाई कम्तीमा पनि एक निर्वाचन क्षेत्र कायम गरी जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रावधान राखिएको छ ।

कांग्रेसले मोर्चालाई संशोधन विधेयकलाई थप परिमार्जन गर्न सकिने विभिन्न पक्षहरुका बारेमा जानकारी गराउँदै त्यसमा मोर्चासँग आवद्ध दलहरुको सहमति लिएर आउन आग्रह गरेको थियो ।

मोर्चाले भने संसदमा पेस भएको संशोधन विधेयकले आन्दोलनका मागहरु सम्बोधन गर्न नसक्ने भएकाले प्रमुख मुद्दाका रुपमा रहेको प्रदेशको सीमासम्बन्धी विषयमा कांग्रेसको स्पष्ट जवाफ माग गरेको थियो ।

यद्यपि, कांग्रेसको उक्त प्रस्तावलाई मोर्चाले सकारात्मक लिँदै त्यसबारे आवश्यक छलफल गरेर आउने जवाफ दिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले मधेशी मोर्चाका मागलाई सम्बोधन गर्न के–कस्ता विषयलाई कसरी समेट्न सकिन्छ भन्नेबारे छलफल भएको जानकारी दिए ।

“संसद्‌मा पेस भएको संविधान संशोधन विधेयकमार्फत मोर्चाले उठाएका मागलाई कहाँ, कसरी समेट्न सकिन्छ, नमिलेको विषय के हो र कसरी मिलाउन सकिन्छ तपाईँहरुको स्पष्ट धारणा ल्याउनुस् भनेका छौँ, उहाँहरुले सरसल्लाह गरेर आउछौँ, भन्नुभएको छ,”– प्रवक्ता बडूले भने ।

नेपाली कांग्रेसले वार्ता, संवाद र सहमतिबाटै अहिलेको समस्या हल गर्न सकिने भएकाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न मोर्चालाई आग्रह गरेको थियो ।

छलफलमा कांग्रेसका तर्फबाट पार्टी सभापति सुशील कोइरालासहित अन्य पदाधिकारी र मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>