समाचारशनिबार, पौष ४, २०७२
१२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक
मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक हुन् काठमाडौँ, वसुन्धराका माधव कार्की ।

माधव कार्की । तस्वीर: रासस
बहुदलीय व्यवस्था पुन:स्थापनापछिका मुलुकका १२ जना प्रधानमन्त्रीका गाडी चालकको जिम्मेवारीलाई कार्कीले कुशलतापूर्वक पूरा गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मको गाडी कार्कीले चलाइरहेका छन् ।
मुलुकको शासनको बागडोर सम्हाल्ने प्रधानमन्त्री १२ जनालाई सुरक्षित गन्तव्यमा पुर्याउँदा चालक कार्कीका विभिन्न रोचक अनुभूति र अनुभव छन् ।
कार्कीले विसं २०५६ देखि तत्कालीन प्रधानमन्त्री भट्टराईको गाडी चलाए । त्यसपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी चलाएका छन् ।
विसं २०४२ मा कृषि मन्त्रालयमा सवारी चालकका रुपमा सेवा प्रवेश गरेका कार्कीले २०४७ सालमा गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवा भई प्रधानमन्त्रीको सवारी चलाउने महत्वपूर्ण जिम्मेवारी पाए ।
त्यसो त चालक कार्कीले कुनै संस्थाबाट तालिम लिएका होइनन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको समयमा मिलन बस्नेतले उनलाई तालिम दिएका थिए ।
प्रधानमन्त्रीको गाडी सुरक्षा कारकेडको गतिअनुसार चलाउनु आफैँमा चुनौतीपूर्ण हो । निकै सचेतपूर्वक सवारी चलाउनुपर्ने हुन्छ ।
कुनै प्रधानमन्त्रीलाई तीव्र गति मन पर्ने र कसैलाई कम गति मन पर्ने, त्यसैले व्यक्तिको चाहना र आवश्यकतानुसार सवारीको गति सन्तुलन गर्नुपर्ने बाध्यता उनलाई छ ।
बाह्र प्रधानमन्त्रीको निरन्तर सवारी चलाउँदा त्यसबीचमा फेरबदल भइरहने प्रधानमन्त्रीसँगका विभिन्न अनुभूति कार्कीमा छ ।
प्रधानमन्त्रीको सवारी चलाउन नेपाली सेनाका कर्णेल र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकले प्रशिक्षण दिन्थे । सवारीका बेला कहीँ कतै गाडी भगाउनुपरेमा कारकेड मोटरसाइकलको गतिमा (५० देखि ८०) को गतिमा हाँक्नुपर्छ ।
चालक कार्कीलाई भने अन्य हँकाइभन्दा कार्यकारी प्रमुखको गाडी हाँक्न सजिलो र मज्जा हुन्छ । “ प्रधानमन्त्रीको सवारीमा हर्न बजाउनु पर्दैन, कतै रोक्नु पनि पर्दैन र जाम पनि हुँदैन”, कार्की भन्छन् ।
उनी भन्छन्, “मलाई गौरव लाग्छ, म आफ्नै मेहनतले आज यो ठाउँमा पुगेको छु, देशको प्रधानमन्त्रीको सवारी हाँक्न पाउँदा असाध्यै खुसी र गर्व लागेको छ .”
अबको छ महिनापछि उमेर हदका कारण सेवानिवृत्त हुन लाग्नुभएका कार्कीले बाँकी जीवन सानोतिनो व्यवसाय गरेर बिताउने योजना सुनाए । उनी निजामती सेवा अन्तर्गत पाँचौँ तहबाट सेवानिवृत्त हँदै छन् । कार्कीको परिवारमा श्रीमतीसहित दुई छोरा र चार छोरी छन् ।
बाह्र प्रधानमन्त्रीका अहिलेसम्म चार वटा मात्र सवारी फेरिएका छन् । अहिलेका प्रधानमन्त्रीको नयाँ सवारी छ । हालसम्म प्रधानमन्त्रीले चढ्ने महँगो गाडी भनेको करिब रु सात करोड मूल्यको छ ।
सबैभन्दा महँगो बिएमडब्लु कार हो जसको रु आठ करोड मूल्य पर्छ । परराष्ट्र मन्त्रालयको यो कार विशेष समारोहका बेला मात्र प्रयोग गरिन्छ ।
सामान्यतःप्रधानमन्त्रीको सवारीमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)का गाडी र ट्राफिक प्रहरीको कारकेड मोटरसाइकल हुन्छन् । दैनिक ३२ देखि ३४ जना सुरक्षार्थ खटिन्छन् तर विशेष समारोहमा गाडी पनि बढी हुन्छन् ।
मोटरसाइकल कारकेड नौ वटा अघिपछि र दायाँबायाँ १० वटा हुन्छ ।
प्रधानमन्त्रीका आफ्नै सोख
चालक कार्कीले अहिलेसम्मका प्रधानमन्त्री थरिथरि सोखका देखेका छन् । वर्तमान प्रधानमन्त्री ओली तथा तत्कालीन प्रधानमन्त्री देउवा, दाहाल र भट्टराईलाई बढी गति मन पर्छ । थापा र निवर्तमान प्रधानमन्त्री सुशीललाई भने कम गति मनपर्छ ।
यतिका प्रधानमन्त्रीमध्ये गिरिजाप्रसादले मात्र चालक कार्कीका बारे बढी चासो लिएका रहेछन् ।
प्रधानमन्त्री कोइरालाले त तीन पटक उनको घरमा समेत पुगेका थिए । अहिलेका प्रधानमन्त्री ओलीले पनि घरपरिवारको अवस्थाबारे चासो लिने गरेको उनले बताए ।
कार्कीले भने, “प्रधानमन्त्री ओलीले आफ्नो परिवारका सबैलाई बालुवाटारमै बोलाएर सामूहिक तस्वीर खिंचाउनुभयो । अरुसँग त्यस्तो क्षण रहेन ।”
कार्कीको निपुणतालाई देखेर तत्कालीन प्रधानमन्त्री दाहालको समयमा उनलाई निजामती पुरस्कार–२०६५ बाट सम्मान गरिएको थियो ।
सिबी अधिकारी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
