अर्थ/बजारशनिबार, पौष ४, २०७२
विद्युतीय स्कुटरको वेला
नाकाबन्दीका वेला विद्युतीय स्कुटरप्रति बढेको आकर्षण कायम राख्न सके पेट्रोलमा गरिने खर्च कटौतीका साथै वातावरण संरक्षणमा पनि योगदान पुग्छ।
नाकाबन्दी उत्पन्न इन्धन हाहाकारबीच पनि ताहाचल, काठमाडौंका दीपक बज्राचार्य पेट्रोलका लागि लाइन बसेका छैनन्। तर, दिनहुँ स्कुटर भने कुदाइरहेकै छन्। कारण, उनी विद्युत्बाट चल्ने स्कुटर (ई–स्कुटर) चढ्छन्।
वातावरण संरक्षणमा थोरै भए पनि सहयोगी हुने उद्देश्यले गएको वैशाखमा ब्रजाचार्यले किनेको ई–स्कुटी नाकाबन्दीपछि त ‘वरदान’ झैं भएको छ। उनी स्कुटरलाई दैनिक दुई घण्टा चार्ज गर्छन् र ५० किलोमिटरसम्मको यात्रा भ्याउँछन्।
“कार थन्क्याएर इलेक्ट्रिक स्कुटर चढिरा’छु” उनी भन्छन्, “पैसाको पनि बचत भइरहेको छ।”
नेपालमा टेर्रा, भीमोटो, ओरेभा, हिरो, ट्रष्ट कम्पनीका विद्युतीय स्कुटर बिक्री भइरहेका छन्। नाकाबन्दीले इन्धन अभाव भएपछि बजारमा यस्ता स्कुटरको माग र महत्व बढेको छ।
जापानी कम्पनी टेर्रा मोटर्सको बिक्रेता फेयर अटो नेपालको राजधानीको दरबारमार्ग नजिकै धर्मपथमा रहेको बिक्री केन्द्रमा दैनिक सय जनाभन्दा बढी विद्युतीय स्कुटरबारे बुझन आइरहेका छन्।
“दशैंअघि नै सबै स्कुटर सकिए”, फेयर अटो नेपालका महाप्रबन्धक दीपककुमार पुराकोटी भन्छन्, “काठमाडौंमा मात्रै २०० स्कुटर बुकिङ भैसकेको छ।”
रु.१ लाख ३५ हजारदेखि रु.१ लाख ८० हजारसम्म पर्ने टेर्राका स्कुटर एकपटक चार्ज गरे ४५ देखि ९० किलोमीटरसम्म गुड्ने पुराकोटीको दाबी छ।
सिड ६० अल्फा, हयाते, आरासी, इसिन, यामातो मोडलका विद्युतीय स्कुटर बिक्री गरिरहेको फेयर अटोले चाँडै नै ए २००० र एल ७२ मोडलका दुई स्कुटर भित्र्याउने तयारी पनि गरिरहेको छ। “छोटो दूरीमा नियमित आउजाउ गर्नेका लागि सबैभन्दा उत्तम सवारी नै यही हो”, पुराकोटीको दाबी छ।
प्राइम बिजनेसका बिक्री तथा बजार प्रबन्धक श्रेया जाजोदिया तीन महीनायता हिरो इलेक्ट्रिक कम्पनीका ८० वटा स्कुटर बिक्री र ७० वटाको बुकिङ भइसकेको बताउँछिन्।
“अहिलेको तेल संकटमा कार्यालय जानेहरूले विद्युतीय स्कुटरबारे विशेष चासो दिएका छन्”, जाजोदिया भन्छिन्। प्राइमले टेकुस्थित बिक्री केन्द्रबाट रु.१ लाख ४५ हजार पर्ने अप्टिमा प्लस र रु.१ लाख ६० हजारको फोटोन स्कुटर बिक्री गर्दै आएको छ।
टेकुमै केन्द्र रहेको अष्ट अटोमोबाइल्सले पनि डेढ वर्षदेखि इलेक्ट्रिक स्कुटरको कारोबार गर्दै आएको छ। प्रबन्ध निर्देशक सुरेन्द्र मानन्धर डेढ वर्षमा एक सय ओरेभा र ५० भीमोटो कम्पनीका विद्युतीय स्कुटरहरूको बिक्री भइसकेको बताउँछन्।
अष्टले ओरेभाको जे ५०० डिलक्स र भीमोटोको भि ९० एस, भिएक्स ९० एस, भि ५ र बी मोडलको स्कुटरको बिक्री गरिरहेको छ भने चाँडै नै भीमोटोको एलियन भिएक्स ११० र भि ११० मोडल नेपालमा सार्वजनिक गर्ने मानन्धरको भनाइ छ।
न धूवाँ न चर्को आवाज। विद्युतीय स्कुटरको प्रयोगले पेट्रोल अभावको सकसबाट मुक्त गर्ने मात्र होइन, वातावरणीय क्षति समेत कम गराउँछ। त्यसैले विकसित देशहरूमा इन्धनका सवारी विस्थापित गर्दै विद्युतीय सवारीमा जोड दिन थालिएको छ।
“ढिलोचाँडो इन्धनका सवारी कम हुन्छन् नै, त्यसैले अहिलेदेखि नै विद्युतीय स्कुटर किन नचढ्ने?” फेयर अटोका महाप्रबन्धक पुराकोटीको प्रश्न छ।
विद्युतीय स्कुटरमा अन्य स्कुटरमा जस्तै अटोकट सिस्टम, ट्युबलेस टायर, डिक्स ब्रेकलगायतका विशेषता छन्। पेट्रोलबाट चल्ने स्कुटर जस्तो बारम्बार बनाइरहनु नपर्ने यो स्कुटर बढीमा ४० किलोमीटर प्रतिघण्टा गतिमा चलाउन सकिन्छ।
“यो स्कुटर चलाउन सवारी अनुमति पत्र र दर्ता पनि गर्नुपर्दैन”, प्राइम बिजनेसकी श्रेया जाजोदिया भन्छिन्।