अर्थ/बजारआइतबार, पौष ५, २०७२
आन्दोलनले बाराका बस व्यवसायी संकटमा
राम्रो आम्दानीको आशामा ऋण गरेर व्यवसाय शुरु गरेका बाराका व्यवसायीहरु लामो समय सम्मको बन्दका कारण करोडौं रुपैयाँ घाटा व्यहर्नु वाध्य भएका छन् ।
बैंक तथा वित्तिय संस्थाहरुबाट चर्को ब्याजदरमा ऋण लिएर खरिद गरेका बसहरु विगत चार महिनादेखि जारी आन्दोलनका कारण सञ्चालन हुन नसक्दा ६ करोड भन्दा बढी रुपैयाँ घाटा व्यवहोर्नु परेको छ ।
बाराको सदरमुकाम कलैया लगायत ग्रामीण भेगमा समेत संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले सवारीका साधनमा आगजनी, तोडफोड गरिरहँदा बससेवा पूर्ण ठप्प भई सयभन्दा बढी बस कलैयास्थित दोरिका बसपार्कमा थन्किएका छन् ।
मोर्चाको बन्द हडताल र नाकाबन्दीको कारण बैकको व्याज सम्म तिर्न नसकी चार महिनामा ६ करोड रुपैयाँ भन्दा बढी घाटा भएको बारा बस व्यवसायी संघका अध्यक्ष रामप्रसाद साहले बताए ।
चार महिना भन्दा बढी थन्किएका बसहरुको व्याट्री लगायत सामानहरु बिग्रने हुँदा अब सञ्चालन गर्दा थप ब्ययभार लाग्ने उनले बताए ।
रात्रीकालीन बसहरु प्रहरी सुरक्षामा सञ्चालन हुँदै आए पनि दिवा बसहरुलाई प्रहरीले पनि सुरक्षा दिन नसक्ने हुँदा पूर्ण रुपमा ठप्प छन् ।
कलैया–वीरगञ्ज रुटसँगै जिल्लाको ग्रामीण भेग सिम्रौनगढ, बरियारपुर, जीतपुर, कोल्हवी लगायत दर्जनौं भन्दा बढी ठाउँमा दैनिक सञ्चालन हुने १०४ वटा बसहरु चार महिनादेखि ठप्प छन् ।
सिङ्गो राष्ट्र नै आर्थिक संकटमा परिरहेको अवस्थामा सरकार र आन्दोलनकारी दुवै पक्ष गम्भीर भएर हिंसाको बाटो छोडी अराजकताबाट छिटै निकास दिन लाग्नु पर्ने व्यवसायीहरुको भनाई छ ।
श्याम गुप्ता, बारा