समाचारसोमबार, पौष ६, २०७२
कृष्ण अधिकारीको हत्या अभियुक्तलाई थुनामा राख्न सर्वोच्चको आदेश
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेललाई पुर्पक्षका लगि थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत चितवनमा चलिरहेको मुद्दामा जिल्ला र पुनरावेदन अदालत हेटौडाले थुनछेक वहषमा धरौटीमा छाड्न दिएको आदेशविरुद्ध १ भदौ २०७२ मा सर्वोच्चमा पुनरावेदन परेको थियो ।
६ पुस २०७२ मा न्यायाधीशहरु गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले पुनरावेदन अदालत हेटौडाको आदेश त्रुटिपूर्ण रहेको भन्दै पौडेललाई थुनामा पठाउन आदेश दिएको हो ।
कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दा चितवन जिल्ला अदालतमा विचाराधीन छ ।
छोरा कृष्णको हत्यामा संलग्नलाई कारवाहीको माग राख्दै अनसन बसेका नन्दप्रसाद अधिकारीको ६ असोज २०७१ मा निधन भएको थियो । अनसनको ३३० औं दिनमा निधन भएका नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।
दर्ताको १० दिनपछि ११ भदौमा पेशीमा चढेको उक्त मुद्दा हेर्न नभ्याइने, हेर्न नमिल्ने, हेर्दाहेर्दै भन्दै निरन्तर सर्दै आएकोमा ६ पुसमा ११ औं सुनुवाईमा किनारा लागेको हो ।