थप समाचारसोमबार, पौष ६, २०७२
राज्यलक्ष्मीदेखि संविधान जलाउनेसम्मलाई सम्मान गरेपछि एमालेमा विरोध
पार्टीलाई सार्वजनिक रुपमा बद्नाम गर्ने राज्यलक्ष्मी गोल्छादेखि संविधान जलाउन नेतृत्व गर्नेसम्मलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेपछि नेकपा एमाले सुनसरीको जिल्ला परिषद् बैठकमा चर्काे विरोध भइरहेको छ ।
जिल्ला सदस्य भीम ज्वालाका अनुसार जिल्ला कमिटी बैठकको निर्णय बिपरीत गोल्छालाई सम्मान गरिएको भन्दै अधिकांश प्रतिनिधिहरुले आलोचना गरेका छन् । ज्वालाले हिमालखबरसँग भने, “गोल्छाको नाम, सम्मान गरिने सूचीमा थिएन, कार्यक्रमको अन्तिमतिर आइपुगेकी गोल्छालाई सम्मानका लागि बोलाइएपछि सवै चकित भयौं ।”
२ पुसमा सम्पन्न जिल्ला कमिटी बैठकमा गोल्छालाई सम्मान गर्नेबारे कसैले प्रस्ताव समेत नगरेको उनले बताए ।
यस्तै, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दासलाई सम्मान गरिएकोमा पनि विरोध भएको छ ।
३ असोजमा जारी भएको संविधान जलाउन नेतृत्व गरेका दासलाई सम्मान गरिएकोमा कार्यवाहक जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीले माफी समेत मागेका छन् ।
“पैसा खुवाएर उपकुलपति बनेका विवास्पद छवीका दासलाई सम्मान गरिनु राम्रो नभएपनि जिल्ला सदस्य मुरारी सुवेदीले सम्मान गर्नैपर्ने जिद्दी गरेपछि सम्मान गरिएको जवाफ अध्यक्ष चौधरीले दिएका छन्”, ज्वालाले भने । दासले बीपीभित्रका डाक्टरहरुको नेतृत्व गर्दै संविधान जलाएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री निकट रहेका मुरारी सुवेदी जिल्ला कमिटी निर्वाचनमा पराजित भए पनि केन्द्रकै दबावमा पुनः मनोनयन भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
