समाचारबुधबार, पौष ८, २०७२
मोर्चासँगको छलफललाई निष्कर्षमा पुर्याउन कांग्रेसको जोड
नेपाली कांग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि आन्दोलनरत मधेशी मोर्चासँगको छलफललाई निष्कर्षमा पुर्याउन सक्दो प्रयास गर्ने जनाएको छ ।
कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा आज, ८ पुसमा भएको कांग्रेस पदाधिकारी बैठकले मोर्चासँगको छलफललाई व्यवस्थित बनाई टुङ्गोमा पुर्याउन सक्दो प्रयास गर्ने निष्कर्ष निकालेको हो ।
कांग्रेसले केही दिनयता मोर्चाको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता र छलफललाई तीव्रता दिएको छ ।
साथै बैठकले आजको व्यवस्थापिका–संसदको बैठकलाई कसरी अघि बढाउने सम्बन्धमा पनि छलफल गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य महेश आचार्यले बताए ।
बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादलाई सुल्झाउने सम्बन्धमा पनि छलफल गरेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएका विवाद समाधान सम्बन्धमा समितिमा उठेका धारणालाई समेत सम्बोधन गरी तीन दिनभित्र सभापतिलाई प्रतिवेदन बुझाउन आदेश दिएको थियो ।
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिलाई दिएको समयावधिको आज अन्तिम दिन हो ।
सीमाङ्कनमा हेरफेर हुनसक्ने: नेता निधि
कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सीमाङ्कनमा हेरफेर हुनसक्ने उल्लेख गर्दै मधेशमा दुई वा तीन प्रदेश कांग्रेसको आधिकारिक धारणा रहेको जानकारी गराए ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मधेशी मोर्चाको ११ बुँदे मागबारे कांग्रेस सकारात्मक रहेको भन्दै नेता निधिले संविधान संशोधन विधेयक संसद्बाट पारित भएपछि जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र र राज्यको हरेक निकायमा समानुपातिक सहभागिताको मधेशी मोर्चाको माग पूरा हुने धारणा व्यक्त गरे ।
उनले सदनमा प्रस्तुत विधेयकको भाषामा मोर्चाको चित्त नबुझेको भए भाषा मिलाउन सकिने बताएका थिए ।
पार्टी तेह्रौँ महाधिवेशनको तयारीमा जुटेको उल्लेख गर्दै नेता निधिले वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिमा उठ्नका लागि जुटिसकेको र आफू पार्टी महामन्त्रीमा उठ्ने पनि सङ्केत गरे ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
