समाचारबुधबार, पौष ८, २०७२
भारतले स्वागत गर्दैमा समस्या समाधान हुँदैनः मधेशी गठबन्धन
संघीय समावेशी मधेशी गठबन्धनका नेताहरुले मधेशको आन्दोलनलाई सम्बोधन गर्न भन्दै सरकारले गरेको प्रस्तावको भारतले स्वागत गर्दैमा आन्दोलन नटुँगिने बताएका छन् ।
८ पुसमा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका तीन जना नेताहरुले मुलुकको समस्या आन्तरिक भएको र आन्तरिक रुपमै सल्टाउनुपर्ने भन्दै भारतलाई खुशी पार्दैमा मुलुकको समस्या समाधान नहुने धारणा व्यक्त गरे ।
गठबन्धनमा मधेश केन्द्रित साना दलहरु– अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको रामसपा, राजकिशोर यादव नेतृत्वको मजफो गणतान्त्रिक र जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेश अभियान संलग्न छन् ।
“सरकारले ल्याएको तीन बुँदे प्रस्तावलाई भारतले स्वागत गरेकोबारे राष्ट्रिय मिडियामा ठूला–ठूला अक्षरमा लेखिएका छन्” राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) का अध्यक्ष शरतसिंह भण्डारीले भने, “तर खुशी हुने कुरा छैन्, भारत खुशी हुँदैमा समस्याको समाधान हुँदैन् ।”
उनले सरकारले पेश गरेको संविधान संशोधन विधेयक फिर्ता लिएर सबैसँग छलफल गरी पुनः पेश गर्नुपर्ने बताए ।
गठबन्धनका अर्का नेता तथा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले पहिला भारतलाई खुशी पार्ने नेताहरुले आफ्नै देशका जनतालाई खुशी पार्न नखोज्नु बिडम्बना भएको बताए ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सरकारले नश्लवादी चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै समस्या समाधानका लागि विदेशलाई गुहार्ने काम ठीक नभएको बताए ।
श्रवणकुमार देव, राजविराज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
