समाचारबुधबार, पौष ८, २०७२
ग्यास ढुवानी गर्ने ‘बुलेट’ खरिदको तयारी, १०७९ आवेदन
नेपाल आयल निगमले एलपी ग्यास ढुवानी गर्ने अत्यावश्यक सवारी साधन ‘बुलेट’ खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।
निगमले ४५० वटा बुलेट खरिद गर्न चाहने उद्योगीबाट प्रस्ताव आह्वान गरेपछि ५३ वटा ग्यास उद्योगी र अन्य कम्पनीका तर्फबाट एक हजार ७९ निवेदन परेको छ ।
हाल नेपालमा ग्यास ढुवानी गर्ने सबै बुलेट भारतीय कम्पनीका हुन् । सङ्कटको समयमा अप्ठ्यारो परेकाले बुलेट खरिद गर्न अनुमति दिन लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
निगमले ग्यास उद्योगी सङ्घलाई कसले कति खरिद गर्न सक्ने भन्ने विषयमा स्पष्ट भएर आउन भनेको छ । सङ्घको धारणा आएपछि उक्त विषयमा निर्णय लिइने प्रवक्ता घिमिरेले जानकारी दिए ।
कर तथा भन्सार छुट भएको अवस्थामा हाल सञ्चालनमा आएको जस्तै एउटा बुलेट खरिदका लागि रु ७० लाख देखि रु ८० लाखसम्म पर्ने अनुमान गरिएको छ । एलपी ग्यास उद्योगी सङ्घका अध्यक्ष शिव घिमिरेका अनुसार कर र भन्सार छुट नदिने हो भने एउटा बुलेटको मूल्य रु एक करोड १५ लाख पर्नेछ ।
निगमले उद्योगीलाई ३५० वटा मात्र खरिदका लागि अनुमति दिने अरु बाँकी १०० वटा बुलेट अन्यलाई दिने तयारी गरेको एलपी ग्यास उद्योगी सङ्घका अध्यक्ष शिव घिमिरेले बताए ।
नेपालीसँग ग्यास बुलेट नहुँदा आयातकै लागि प्रतिवर्ष रु ३ अर्ब ५० करोड रकम भाडामै विदेशीने गरेको छ ।
अध्यक्ष घिमिरेका अनुसार निगमले आह्वान गरेपछि सङ्घका तर्फबाट ७६८ वटा बुलेट खरिदका लागि निवेदन परेको छ । उद्योगीले रातो प्लेट राख्नेगरी खरिदका लागि अनुमति मागेका छन् भने निगमले भने कालो प्लेटको पनि बुलेट खरिदका लागि अनुमति दिने तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
