समाचारबुधबार, पौष ८, २०७२
तीन दलका मधेशी सांसदलाई पार्टी छोड्न महतोको आग्रह
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले, कांग्रेस र एमाओवादीका मधेशबाट निर्वाचित सांसदहरुलाई पार्टीबाट राजीनामा गरेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।
वीरगञ्जमा, ८ पुसमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले मधेशी जनताको अधिकारको लडाइँमा सहभागी हुन भन्दै ठूला तीन दलका मधेशी नेता र सांसदहरुलाई व्यक्तिगत पत्राचार गरिएको जानकारी दिए । महतोले भने “मैले तीन दलका सबै १५० जना मधेशी सांसदहरुलाई लिखित रुपमै पत्र पठाएर मधेस आन्दोलनमा सहभागी हुन आग्रह गरेको छु ।”
सरकारले मधेश आन्दोलनसँग मुछेर भारतलाई बदनाम गराउने षडयन्त्र गरिरहेको दोहोर्याउँदै उनले सरकारको पछिल्लो तीन बुँदे प्रस्ताव र संसदमा पेश संविधान संशोधन विधेयक दुवै ‘काम न काजको’ भएको टिप्पणी गरे ।
वीरगञ्ज बाहेकका नाकाहरुमा समेत आन्दोलन सशक्त बनाउने उद्देश्यले आफू विराटनगर नाकामा जाने उनले जानकारी दिए ।
‘सरकारको दोहोरो चरित्र’
महतोले सरकार मधेशमा जारी आन्दोलनका माग पूरा गर्न गम्भीर नभएको आरोप लगाएका छन् ।
सरकारले दोहोरो चरित्र देखाएको भन्दै उनले थपे, “सरकार एकातिर सीमांकन तीन महिनामा टुंग्याउने भनिरहेको छ, अर्कोतिर प्रधानमन्त्री आफैं झापा, मोरंग र सुनसरीको एक इन्च पनि भूमि नटुक्र्याउने भनिरहेका छन् । यो दोहोरो चरित्र नभएर के हो ? यस्ता कुराले सहमति हुन सक्दैन ।”
उनले सीमांकनमा कुरा नमिलेसम्म सहमति हुनै नसक्ने बताए । आफूहरु अन्तिम धक्काको तयारीमा रहेकोले सबैलाई आन्दोलनमा सहभागी हुन आग्रह गरे । यसअघि मोर्चाले ३ पुसबाट अन्तिम धक्काको आन्दोलन गर्ने भने पनि आन्दोलनको प्रभाव खासै परेको छैन् ।
सुरेश विडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
